भरतपुर महानगरभित्र जन्मिने छोरीलाई एक लाख रुपैयाँको बिमा

105

जेठ ११,

चितवन : भरतपुर महानगरपालिकाको पदभार ग्रहण गरेसँगै नगरप्रमुख रेनु दाहालले दुई महत्त्वपूर्ण निर्णय गरेकी छिन्।पहिलो निर्णय अनुसार अब महानगरभित्रका बासिन्दाले मासिक सात हजार लिटर खानेपानी निःशुल्क पाउने छन्। यस्तै महानगरभित्र जन्मिने छोरीलाई एक लाख रुपैयाँको छोरी बिमा निर्णय गरिएको छ।महानगरभित्रका झण्डै ५२ प्रतिशत जनताले बुधबारदेखि नै निःशुल्क खानेपानी पाउने भएका छन्। यसका लागि वार्षिक दुई करोड ५० लाख रुपैयाँ हाराहारी खर्च हुने महानगरको अनुमान छ महानगरभित्र खानेपानी व्यवस्थापन बोर्ड र उपभोक्ता समितिमार्फत खानेपानी वितरण गरिँदै आएको छ। बोर्डका ३५ ग्राहक हजार छन् । बोर्डका प्रमुख प्रजापति दाहालका अनुसार २५ भन्दा बढी उपभोक्ता समितिमार्फत महानगरमा खानेपानी वितरण गरिँदै आएको छ। महानगरका ९० प्रतिशत जनताले सरकारी निकायबाट वितरण गरिएको खानेपानी उपभोग गर्दै आएका छन्।

महानगरले गरेको दोस्रो निर्णयमा महानगरपालिकामा स्थायी बसोबास गर्नेहरूबाट जन्मिएका छोरीका लागि एक लाख रुपैयाँको जीवन बिमा गरिने भएको छ। महानगरका लेखा प्रमुख जगन्नाथ अर्यालका अनुसार पहिलो वर्ष एक हजार ७५० जनाको बिमा हुने अनुमान छ। सरकारी स्वास्थ्य संस्थामा जन्मिएका छोरीहरूले यो सुविधा पाउनेछन्।राष्ट्रिय बिमा संस्थानमार्फत बिमा गर्न लागिएको हो। एक जनालाई वार्षिक तीन हजार ३०० रुपैयाँ महानगरपालिकाले १५ वर्षका लागि बुझाउने छ। पन्ध्र वर्षपछि एक लाख पाउने गरी बिमा गर्न लागिएको हो। अर्यालका अनुसार आउँदो १५ वर्षमा २६ हजार २५० जनाले सुविधा लिने अनुमान गरिएको छ।पदभार ग्रहणसँगै दाहालले महानगरवासीले आफ्नो अघिल्लो कार्यकालका कामलाई अनुमोदन गरेको भन्दै पहिलो प्राथामिकतामा अधुरा काम रहेको बताइन्। ‘भरतपुर महानगरपालिकालाई देशका अन्य पालिकाले सिको गर्ने बनाउँछौँ’, उनले भनिन्।‘महानगरवासीलाई निराश हुन दिन्नँ। सबैको राय–सुझाव लिएर काम गर्छु।’