ओखलढुंगा । जिल्लामा १८ वर्षीया किशोरी अर्धचेत अवस्थामा फेला परेकी छन्। आइतबार बिहान करिब ६ बजे मानेभञ्ज्याङ गाउँपालिका(५ स्थित घर गाउँको बाटोमा एक किशोरी अर्धचेत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शुकदेव खनालले जानकारी दिए। उनका अनुसार घरभन्दा डेढ किलोमिटर टाढा सडकमा फेला परेकी हुन्।
‘गाउँको बाटोमै फेला परेको हो। दायाँबायाँ जंगल जस्तै छ,’ उनले भने, ‘अर्धचेत अवस्थामा फेला परेको हो।’ उनलाई बिहान ६ बजे उद्धार गरी जिल्लास्थित मिसन अस्पतालमा लगिएको छ। उनको टाउकोमा पनि चोट लागेको प्रहरी नायब उपरीक्षक खनालले बताए। अहिले उनको थप उपचारको लागि काठमाडौं ल्याउने तयारी भइरहेको छ।
प्रहरी नायब उपरीक्षक खनालका अनुसार किशोरी गएराति परिवारसँगै सुत्न गएकी थिइन्। बिहान करिब ४ बजेतिर भने उनी घरमा थिइनन्।
घरमा नदेखेपछि घर परिवार तथा छिमेकहरू मिलेर उनको खोजी गर्न थालेको थियो। प्रहरीलाई पनि खबर गरिएको थियो। खोजतलास गर्नेक्रममा करिब ५ बजे किशोरीलाई सडकमा अर्धचेत अवस्थामा फेला पारेको हो। उनी आफ्नो घर भन्दा डेढ किलोमिटर टाढा फेला परेकी हुन्।