आजबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उडान सुरु

64

बुटवल । मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आउँदैछ। सोमबारदेखि नै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिरा एयरलायन्सले उडान भर्दैछ। भैरहवास्थित गौतमबुद्ध विमानस्थलको सोमबार बिहान औपचारिक कार्यक्रमबीच प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने भएका छन्। विमानस्थलका निमित्त निर्देशक तथा प्रवक्ता श्यामकिशोर शाहले सोमबार उद्घाटनको तयारी भएको बताए। नेपाल एयरलायन्सको न्यारोबडीले सोमबार नै व्यावसायिक उडान भर्दैछ।

गौतमबुद्ध विमानस्थल सञ्चालनमा आएपछि आपत्कालीन अवस्थामा जहाज भारत वा बंगलादेश डाइभर्ट गर्नुपर्ने अवस्थाको समेत अन्त्य हुनेछ। काठमाडौं बाहिर र मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि यसले आर्थिक विकासमा समेत सहयोग पुग्ने अपेक्षा छ।
यहाँबाट उडान भर्न श्रीलंकन एयर, फ्लाई दुबई, थाई स्माइल, गल्फ एयर, ओमन एयर, कतार एयर, सलाम एयरलगायत ११ मुलुकका कम्पनीले पनि चासो देखाएका छन्। यसअघि जेठ १४ मा नेपाल वायुसेवा निगमकै वाइडबडी विमानले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा डेमोस्ट्रेसन उडान गरेको थियो। २०७४ साल जेठमै निर्माण सक्ने गरी सुरु भएको विमानस्थल निर्माणमा करिब ३० अर्ब खर्च भएको छ। तर, पहिलो म्याद सकिएको पाँच वर्षपछि मात्रै विमानस्थल सञ्चालनमा आएको हो। -अन्नपूर्ण पोष्टबाट