रुकुम पश्चिममा रोकिएन माओवादी र कांग्रेसबीच झडप

310

रुकुम (पूर्व) : रुकुम पश्चिममा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ता बीच पुनः झडप भएको छ। मैत्रिपूर्ण प्रतिस्पर्धा गर्ने भन्दै संयुक्त अपिल जारी भएपछि पनि दुई पार्टी बीच पुनः झडप भएको हो। सोमबार अबेर फेरि जिल्लाको आठबीसकोट नगरपालिका वडा नम्बर १०, मा कांग्रेस र माओबादी केन्द्रका कार्यकर्ताबीच झडप भएको हो। झडपका क्रममा माओबादी कार्यकर्ताले कांग्रेस कार्यकर्ताले प्रचारप्रसारमा प्रयोग गरिरहेको एउटा मोटरसाइकल जलाइदिएका छन्। २ वटा मोटरसाइकल तोडफोड भएको र एउटा गाडीमा क्षति पुगेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी प्रमुख डीएसपी विष्णुप्रसाद सोतीले सवारी साधनमा तोडफोड भएको जानकारी दिए। लु १ ज २६६१ नम्बरको जिप, भे ७ प ३०६५ र भे ८ प ३६२० नम्बरको मोटरसाइकल तोडफोड भएको सोतीले बताए। झडपपछि सवारी साधनमा क्षति पुगे पनि मान्छेलाई भने केही नभएको प्रहरीले जनाएको छ।

प्रचार–प्रसारमा गएका आफ्ना कार्यकर्तामाथि माओवादीले आक्रमण गरेको कांग्रसको आरोप छ। त्यसको विरोधमा कांग्रेस कार्यकर्ताले ९ नम्बर वडास्थित आठबीसकोट नगरपालिकाको कार्यालय तोडफोडको प्रयास गरेको प्रहरीले जनाएको छ। कार्यालय घेराउ गरिरहेकै समयमा प्रहरीले तितरबितर बनाएको र अहिले अवस्था सामान्य रहेको डीएसपी सोतीले बताए। आइतबार मात्रै दुवै दलले झडप नगर्ने, आ–आफ्ना कार्यक्रम सञ्चालन गर्दा उत्तेजक भाषण नगर्ने, एक वडाका कार्यकर्ता अर्काे वडामा नबोलाउने, नजाने र निर्वाचन शान्तिपूर्ण बनाउने भन्दै अपिल जारी गरेका थिए। कांग्रेस सभापति प्रेमप्रकाश ओली र माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोकाले सयुंक्त रूपमा अपिल जारी गरेको २४ घण्टा बित्न नपाउँदै दुवै पक्षका कार्यकर्ता झडपमा उत्रिएका हुन्। कांग्रेस जिल्ला सभापति ओलीले माओवादीले उग्र र उच्छृङ्खल व्यवहार प्रस्तुत गर्न नछाडेको बताए। सहमति र छलफलको मर्मविपरीत माओवादी कार्यकर्ता गइरहेको ओलीको आरोप छ। माओवादीले भने आफ्ना कार्यकर्ता बसेको ठाउँमा कांग्रेस कार्यकर्ताले माथिबाट ढुंगामुढा गरेको बताएको छ।