स्थानीय निर्वाचनः जनताको घरघरमा पुग्दै उम्मेदवार

86

-रशिला होमागाई
भक्तपुर । आसन्न बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहका निर्वाचनकालागि दलहरु सर्वसाधरणको घर दैलोमा अभियाननै लिएर पुग्न थालेका छन् । स्थानीय तहको निर्वाचन भएकाले भूगोलमा धेरै मेहनत गर्न भक्तपुरका मुख्यदेखि सानादलहरु समेत सक्रिय छन् ।
चाँगुनारायण, सूर्यविनायक, भक्तपुर र मध्यपुर गरेर जिल्लामा चार स्थानीय तह छन् । स्थानीय निर्वाचनकोलागि भक्तपुरमा पुरुष ९२ हजार २६५, महिला ९७ हजार ३१४, अन्य ५ जना मतदाता गरेर कुल मतदाताको संख्या १ लाख ८९ हजार ५८४ जना रहेको छ । आगामी २०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि भक्तपुर जिल्लामा ७७ मतदानस्थल र २१९ वटा मतदान केन्द्र तोकिएको छ ।

भक्तपुर नेकपा एमाले, नेपाली कांग्रेस, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकिकृत समाजवादी) पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल), केही स्वतन्त्रलगायतका उम्मदेवारहरु चुनावी मैदानमा छन् । गठबन्धनकारी दलहरु बाहेक भक्तपुरमा एमाले, नेमकिपा र राप्रपा संगठानिक हिसाबले पनि प्रतिस्पर्धी रुपमा देखिन्छ । गठबन्धनमा पनि नगरप्रमुख र उपप्रमुख पदमा भएपनि वडा तहसम्म देखिएको छैन् ।

कस्तो छ गठबन्धन ?
मध्युरथिमी नगरपालिकामा नगरप्रमुख कांग्रेस, उपप्रमुख माओवादी केन्द्र, सूर्यविनायक नगरपालिकामा प्रमुख कांग्रेस, उपप्रमुख एकिकृत समाजबादी र भक्तपुर नगरपालिकामा प्रमुख कांग्रेस र उपप्रमुखमा एकिकृत समाजबादीका उम्मेदवारी रहेको छ ।
भक्तपुरका ३८ वडा मध्य कांग्रेसले ३६ वडामा वडा अध्यक्षको उम्मेदवार बनाएको जिल्ला सचिव शुसिल बस्नेतले जानकारी दिएका छन् । कांग्रेसले चार नगरप्रमुख, एक उपप्रमुख पदमा उम्मेदवारी दिएको छ ।
नेकपा (एकिकृत समाजवादी)का जिल्ला अध्यक्ष श्यामसुन्दर बस्नेतका अनुसार सो पार्टीले गठबन्धन साथ दिदैं दुई उपप्रमुख, ८ वडा अध्यक्ष, वडासदस्यसहित विभिन्न ५२ पदमा मात्रै उम्मेदवारी दिएको छ ।
नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख सुनिल गोथेका अनुसार सो पार्टीले तीन नगरप्रमखु चार उपप्रमुख र २४ वडा अध्यक्ष पदमा उम्मेदवारी दिएको छ । गठबन्धन हुन नसकेको वडामा मित्रवत चुनावी प्रतिस्पर्धा हुने पार्टीहरुले जानकारी दिएका छन् ।
अन्यदलको उम्मेदवारी कस्तो छ ?
एमालेका जिल्ला अध्यक्ष बचन देउजाका अनुसार सो पार्टीले ३७ वटा वडामा वडा अध्यक्षको उम्मेदवारी दिएको छ । भक्तपुर नगरपालिका १ एमालेलाई कांग्रेसले र ५ नं. वडामा कांग्रेसलाई एमालेले एकअर्कालाई सहयोग गर्ने भन्दै उम्मेदवारी एउटा वडामा दिएको छैन् । एमालेले चार नगरप्रमुमख र ४ उपप्रमुख पदमा उम्मेदवारी दिएको छ ।
राप्रपाले चारवटै नगरपालिका नगरप्रमुख र उपप्रमुख पदमा उम्मेदवारी दिएको छ । नेमकिपाले चार बटै नगरपालिकामा उम्मेदवारी दिएको छ ।

घरदैलो अभियानमा उम्मेदवार
सबै नगरपालिकामा विभिन्न पार्टीका उम्मेदवारहरु वडास्तरीय घरदैलो अभियानमा लागेका छन् । पार्टीको केन्द्रीय, नगर र वडा स्तरका घोषण पत्र बोकेर सर्वधारणको घरदैलो मत माग्न भक्तपुरका राजनीतिक दलहरु सक्रिय छन् । पार्टी र उम्मेदवार अनुसार फरक–फरक विषय समेटेर विकाश र सुशासनका कुरा लिएर उम्मेदवारहरु घरदैलो गर्दै छन् । निर्वाचन आचारसंहिता अनुसारमा रहेर प्रचारप्रसार गर्न सबै उम्मेदवारहरुलाई प्रशासनले आग्रह समेत गरेको छ । यता, स्वतन्त्र रुपमा उम्मेदवारी दिएकाहरु पनि चुनावी माहोल बनाउ भक्तपुरमा सक्रिय छन् ।