Friday, October 30, 2026
Home समाज मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक चैती छठ मनाइँदै

मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक चैती छठ मनाइँदै

79

चैत २४,
जनकपुरधाम : आज बिहीबार जनकपुरधामसहित मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक चैती छठ मनाइँदै छ।चैत्र शुक्ल षष्ठी (आज) व्रतालुले विभिन्न जलाशयमा गई अस्ताउँदो सूर्यलाई अर्घ्य दिन्छन् भने भोलि शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ सम्पन्न हुनेछ।चैती छठ चैत्र शुक्ल चतुर्थी (चौथी)देखि सप्तमीसम्म चार दिन मनाइन्छ। कार्तिक शुक्लमा मनाइने छठ पर्व जति चर्चित नभए पनि विस्तारै चैती छठ गर्नेहरूको संख्या बढेको नेपाल पत्रकार महासंघ धनुषाका पूर्वअध्यक्ष उमेश साहले बताए।

चार दिनसम्म मनाइने यो पर्वको पहिलो दिन नुहाएर चोखो खाने चलन छ भने पञ्चमीका दिन खरना पर्व मनाइन्छ। व्रतालुले ‘नहाय–खाय’ विधिबाट छठ प्रारम्भ गरेका र पर्वको पहिलो दिन पवित्र स्नान गरेर व्रत सङ्कल्प गरी चोखोनितो खाने चलन रहेका छन्। शरद र वसन्त ऋतुमा गरी वर्षमा दुईपटक मनाइने छठ सूर्य उपासनाका पर्व हुन्। शरद र वसन्त दुवै ऋतुमा शुक्ल चतुर्थीदेखि सप्तमीसम्म समान विधिले यो पर्व सम्पन्न गरिन्छ। मधेश प्रदेशको प्राचीन छठ जनजन परिचालन हुने महापर्व भएको जानकारहरू बताउँछन्।

पर्वको पहिलो दिन ‘नहाय–खाय’, दोस्रो दिन दिनभरि उपवास बसेर राति सक्खरमा पकाइएको खीरमात्र खाएर ‘खरना’, तेस्रो दिन अर्थात् षष्ठी तिथिमा निराहार उपवास बसेर साँझ अस्ताउँदो सूर्यलाई पवित्र जलाशयको घाटमा कम्मरसम्म पानीमा डुबेर अर्घ्य दिइन्छ, जसलाई ‘सझुका अरख’ भनिन्छ। अन्तिम दिन सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई घाटमै अर्घ्य दिएर पर्व सम्पन्न गरिन्छ। यसलाई ‘भोरका अरख’ भनिन्छ।छठपर्वमा ठकुवा, भुसुवा (कसार) सहितका मिष्ठान्न परिकारसहित पाकेका केराको घरी र अन्य फलफूल तथा दहीसहितका सामग्री व्रतालुले अर्घ्यका वेला सूर्यतर्फ देखाउने गर्छन्।