नायक पल शाहविरुद्ध जिल्ला अदालत नवलपुरमा थुनछेक बहस शुरु

66

चैत २३,

काठमाडौँ : नाबालिग बलात्कारको अभियोग लागेका नायक पल शाहविरुद्ध जिल्ला अदालत नवलपुरमा थुनछेक बहस शुरु भएको छ। नवलपुर अदालतमा आज पीडित किशोरीका तर्फबाट तीनजना सरकारी वकिलले बहस गरेका छन्। सरकारी वकिलहरू बुद्धबहादुर थापा, डालबहादुर नेपाली र कमल पन्थीले बहस दिउँसो १ बजे सकेको वैतनिक वकिल दीपक भट्टराईले जानकारी दिए। सरकारी वकिलले पीडितको मागदाबी अनुसार १२ देखि १४ वर्षसम्म कैद सजाय हुनुपर्ने माग गरेका छन्।

भट्टराईका अनुसार अहिले अभियुक्त शाह पक्षबाट बहस चलिरहेको छ। अदालतका सूचना अधिकारी एवं तहसिलदार लालबाबु क्षेत्रीका अनुसार शाहका तर्फबाट ९ जना वकिलले बहस गर्नेछन्। अहिलेसम्म शाह पक्षका पाँचजना वकिलले आफ्नो बहस सकाएका क्षेत्रीले बताए।आज साँझसम्म शाहलाई रिहा गर्ने वा थुनामा राखेर अनुसन्धान अघि बढाउने आदेश आउने तहसिलदार क्षेत्रीले जानकारी दिए। जिल्ला प्रहरी कार्यलय तनहुँमा हिरासतमा रहेका शाहलाई हिजो जिल्ला अदालत नवलपुरमा पुर्‍याएर वयान लिइएको थियो। पीडित किशोरीले आफूमाथि शाहले एक वर्षअघि बलात्कार गरेको आरोप लगाउँदै तनहुँ र पूर्वी नवलपरासीमा मुद्दा दर्ता गराएकी थिइन्। पीडितको जाहेरीका आधारमा शाहविरुद्ध नवलपुर अदालतमा गत चैत ३ गते मुद्दा दर्ता भएको थियो।