चैत २२,
काठमाडौं : प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आचारसंहिताका बारेमा सम्झाएसँगै राजनीतिक दलहरू पालन गर्न तयार भएका छन्।मंगलबार निर्वाचन आयोगमा बसेको बैठकको शुरुमै आचारसंहिताका बारेमा हस्ताक्षर गर्ने आग्रह गरेपछि राजनीतिक दल भड्किएका थिए। उनीहरूले छलफलबिनै हस्ताक्षर गराउन लागेको भनेर असन्तुष्टि व्यक्त गरेका थिए।
प्रमुख आयुक्त थपलियाले सम्झाएसँगै दलहरूले स्थानीय निर्वाचनमा आचारसंहिता पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। स्थानीय चुनावमा भाग लिन निर्वाचन आयोगमा सूचीकृत ७९ वटा राजनीतिक दलसँग आयोगले मंगलबार आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाउनका लागि छलफल गरेको थियो।छलफलका लागि निर्वाचन आयोगको कार्यालय पुगेका दलका प्रतिनिधिहरूले निर्वाचन आचारसंहितालाई प्रभावकारी कार्यान्वयन गर्न पालना गर्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। उक्त आचारसंहिता आयोगले राजनीतिक दलहरूबाट प्राप्त सल्लाह र सुझाव समेत समेट्दै ऐन, कानुन र संविधानअनुरूप बनाएर राजपत्रमा समेत प्रकाशित भइसकेको उल्लेख गर्दै सोही आचारसंहितामा दलहरूलाई हस्ताक्षर गराइएको उनले जानकारी दिए।