लगाउने मान्छे नहुँदा तीन हजार मात्रा मोडर्ना खोप खेर गयो

74

चैत २२,

काठमाडौ : केही महिना अघिसम्म कोरोना विरुद्धको खोप लगाउन तँछाडमछाड हुन्थ्यो।धेरैले खोप लगाउनेको भिड नियन्त्रण गर्न ठूलै संख्यामा प्रहरी परिचालन गर्नु पर्ने अवस्था थियो। कतिपयले त सोर्सफोर्स लगाएरै पनि खोप लगाए। तर पछिल्लो समय कोरोना विरुद्धको खोप लगाउने मानिस नहुँदा खोप खेर जान थालेको छ। स्वास्थ्य कार्यलयका अनुसार काठमाडौं जिल्लामा झण्डै ३ हजार कोरोना विरुद्धको मोडर्ना खोप खेर गएको बताइएको छ।

स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बसन्त अधिकारीका अनुसार काठमाडौं जिल्लाका लागि लगाउन छुट्याइएको दुई देखि तीन हजार डोज मोडर्ना खोप लगाउने मानिस नहुदाँ खेर गएको बताए। उनले भने ‘पछिल्लो समय खोप केन्द्रमा खोप लगाउन आउनेको संख्या एकदमै कम छ, जसले गर्दा खोप खेर गइरहेको छ।‘स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभाग स्रोतका अनुसार देशभर ८ हजार मात्रा मोर्डना खोप खेर गएको छ। विभाग स्रोतले भन्यो ‘प्रदेश र जिल्लाहरुमा पठाइएको खोपहरू पनि खेर गइरहेको बताइएको छ, देशभर लगभग ८ हजार मात्रासम्म खोप खेर गएको अनुमान गरिएको छ’

स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखा प्रमुख डा. सुरेन्द्र चौरसियाले भने आफूहरुलाई हालसम्म खोप खेर गएको रिपोर्ट नआएको बताए। ‘यो खोप माइनस २५ डिग्रीको भण्डारणबाट निकालेर २ देखि ८ डिग्रीमा भन्डारण गर्न थालेपछि एक महिनाभित्र लगाइ सक्नुपर्छ,नत्र खोप स्वत: खेर जान्छ, यसरी एक महिनासम्म नलगाउँदा केही ठाउँमा केही मात्रामा खोप खेर गएको हुनसक्छ तर धैरै नै खोप खेर गएको रिपोर्ट हामीकहाँ आइपुगेको छैन’ उनले भने। मोडर्ना खोपलाई माइनस २५ डिग्री भन्डारण गर्नुपर्ने र त्यसबाट निकालेको एक महिनासम्ममा लगाइसक्नु पर्ने हुन्छ। नेपालमा १२ देखि १८ वर्ष सम्मका बालबालिकालाई यो खोप लगाइएको थियो।