फागुन २७,
काठमाडौं : निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको तयारीबारे आज राजनीतिक दलहरूसँग छलफल गर्दैछ। राजनीतिक दललाई आयोगबाट हालसम्मको कार्य प्रगति जानकारी गराउँदै थप राय सुझाव लिने भएको हो। संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १७ राजनीतिक दलका प्रतिनिधिलाई आज बिहान साढे ११ बजे छलफलका लागि बोलाइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। निर्वाचनको मिति घोषणा भएको करिब एक महिनामा आयोगले गरेका कामहरुको बारेमा जानकारी गराउने र आयोगसँग दलका अपेक्षाका विषयवस्तु बारेमा छलफल तथा अन्तरक्रिया गरी राय सुझाव लिने प्रवक्ता पौडेलको भनाइ छ। आयोगले प्रत्येक राजनीतिक दललाई नेतासहित दुई जना प्रतिनिधि पठाउन आग्रह गरेको छ। आगामी स्थानीय तह निर्वाचन प्रयोजनका लागि ८० राजनीतिक दलले आयोगमा दर्ताका लागि निवेदन दिएकामा ७९ दलले भाग लिदैछन्।निर्वाचनका लागि ८० वटा दलले निवेदन दिएकोमा निर्वाचन आयोगले ७९ वटा दलको निवेदनलाई स्वीकृत गरेको छ भने ऋषि कट्टेल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को निवेदनलाई आयोगले अस्वीकृत गरेको छ।