संघीय निजामती सेवा ऐन छिट्टै जारी गर्न सरकार प्रतिबद्ध

115

फागुन २१,

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय निजामती सेवा ऐनलाई यथाशीघ्र जारी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। नेपाल निजामती कर्मचारी युनियन, केन्द्रीय कार्य समितिले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले कर्मचारी समायोजनको क्रममा देखिएको समस्या समाधान गर्न पनि सरकार प्रयत्नशील रहेको बताए। उनले जनतामा सहज ढंगले सेवा प्रवाहको काम गर्न पनि कर्मचारीहरुलाई निर्देशन दिए। प्रधानमन्त्री देउवाले राजनीतिक आस्थाका आधारमा सेवा प्रवाह गर्न नहुनेतर्फ पनि कर्मचारीहरुलाई सचेत गराए। जनताको सेवकको रुपमा कर्मचारीहरुले काम गर्नुपर्ने उनको भनाइ थियो। प्रधानमन्त्री देउवाले भने, ‘नेपालको संविधानले ट्रेड युनियनको अधिकारलाई संविधानमै व्यवस्था गरेको छ। संघीय निजामती सेवा ऐनलाई यथाशीघ्र जारी गरी यसलाई कार्यान्वयनमा लैजान सरकार क्रियाशील रहेको छ। कर्मचारी समायोजनको सन्दर्भमा देखिएका समस्या पारस्परिक छलफलको आधारमा समाधान गरी उनीहरुलाई सन्तुष्ट बनाउने काम गरिनेछ।’