स्थानीय चुनावमा गठबन्धनबीच तालमेल नहुन सक्छ : महत

104

फागुन १८,

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनमा रहेका ५ दलबीच चुनावी तालमेल नहुने संकेत गरेका छन्।सत्तारुढ पाँचदलीय गठबन्धनको प्रमुख घटक कांग्रेसका प्रवक्ता महतले सत्तारुढ दलहरूबीच स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गरेर जाने अवस्था आफूले नदेखेको बताएका हुन्।उनले बुधबार न्यूज एजेन्सी नेपालसँग संक्षिप्त कुराकानी गर्दै स्थानीय आवश्यकतालाई ध्यानमा राखेर स्थानीय तहको निर्वाचन सम्पन्न हुने भएकाले दलहरूले आ–आफ्नै ढंगले उम्मेदवारी दिने तर्कसमेत गरे। तर यस विषयमा सत्तारुढ दलभित्र भने कुनै छलफल भइनसकेको पनि उनले उल्लेख गर्न बिर्सिएनन्।

उनले भने, ‘गठबन्धनमा एमसिसीको विषयलाई लिएर जुन संकट आएको थियो, त्यसमा समझदारी विकसित भइसकेपछि यो संकट टरेको छ। र, अब स्वाभाविक रुपमा गठबन्धन अगाडि बढ्छ। अब वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ। ३० गते नै त्यो सम्पन्न हुन्छ। त्यसमा कुनै दुविधा छैन। यो निर्वाचन गठबन्धनकै नेतृत्वमा अगाडि बढ्छ।’प्रवक्ता महतले आवश्यकताको सिद्धान्त र आ–आफ्नै फाइदाको सिद्धान्तअनुसार स्थानीय तहको निर्वाचनमा दलहरू जुट्नुपर्ने अवस्था रहेको दोहोर्‍याए। स्थानीय तहको निर्वाचन तोकिएको समयमा हुनेमा आफ्नो पार्टी विश्वस्त रहेको उल्लेख गर्दै उनले त्यसका लागि सरकार अघि बढिसकेको बताए।