नेपालको बिजुली भारतमा बिक्री गर्न प्रस्ताव

44

फागुन १२,

काठमाडौं : नेपाल–भारत विद्युत् आदानप्रदान सहजीकरण गर्ने उद्देश्यले आज दुई देशका ऊर्जा सचिवस्तरीय संयुक्त सञ्चालन समिति (जेसीसी) को बैठक बस्दैछ।बुधबार सम्पन्न सहसचिव स्तरीय संयुक्त कार्यदलले तय गरेका एजेन्डालाई अनुमोदन गर्ने गरी यो बैठक बस्न लागेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव चिरञ्जीवी चटाैतले जानकारी दिए। बैठक होटल हायातमा बिहान १० बजे सुरु हुने छ। सचिवस्तरीय बैठकमा नेपालका तर्फबाट ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्की र भारतको विद्युत् मन्त्रालयका सचिव आलोककुमारले नेतृत्व गर्दै छन्। बैठकमा नेपाल–भारत विद्युत् आदानप्रदानका पूर्वाधार निर्माण, जलविद्युत् विकासमा लगानी प्रवर्द्धनदेखि द्विदेशीय विद्युत् व्यापारका विषयले प्राथमिकता पाउने छन् ।

बुधबार राति अबेरसम्म जारी कार्यदलको बैठकमा नेपालले न्यु बुटवल गोरखपुर चार सय केभी प्रसारण लाइन निर्माणको विषयलाई महत्वका साथ उठाएको थियो । नेपालले यस पटकको बैठकमा भारतीय खुला बजारमा नेपाली बिजुलीको पहुँचका विषयमा बढी जोड दिएको छ। गत वर्षायाममा नेपालमा करिब पाँच अर्ब रुपियाँको बिजुली खेर गएको थियो तर भारतले ढिला गरी ३९ मेगावाटका लागि मात्र अनुमति दिएको थियो। नेपाल विद्युत् प्राधिकरणले आगामी वर्षायामलाई लक्षित गरेर ४५६ मेगावाटको माथिल्लो तामाकोसी, ३९ मेगावाटको मर्स्याङ्दी र ४५ मेगावाटको मध्य भोटेकोसीको बिजुलीलाई भारतको डे अहेड मार्केटमा बिक्रीका लागि प्रस्ताव गरेको छ तर यो विषयमा भारतले कुनै निर्णय गरेको छैन। नेपाल पक्षले पूर्वाधारका सन्दर्भमा निर्यात संरचना विकसित गर्ने कुरालाई पनि विशेष महत्वका साथ उठाएको जनाइएको छ । हाल उपलब्ध संरचनाको स्तरवृद्धिका अतिरिक्त थप प्रसारण लाइन तथा सबस्टेसन बनाउने विषयमा कार्यदलमा छलफल भएको जनाइएको छ।