माघ २४,
विराटनगर : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले तीन महिनापछि आइतबार जम्बो मन्त्रिमण्डल विस्तार गरे।आठ जना मन्त्री थप गर्दै बनेको मन्त्रिमण्डल १४ सदस्यीय बनेको छ। जसमा १३ मन्त्री र एक राज्यमन्त्री छन्। मुख्यमन्त्री राईले नेपाली कांग्रेसबाट तीन जना, माओवादी केन्द्रबाट दुई मन्त्री र आफ्नै दल नेकपा (एकीकृत समाजवादी)बाट तीन जना मन्त्री नियुक्त गरेका थिए।
सत्तारुढ गठबन्धनलाई भाग पुर्याउन मन्त्रालय विभाजन गरेर १३ जना मन्त्री बनाएपछि मुख्यमन्त्री राईले चर्काे आलोचना खपिरहेका छन्। नेपाली कांग्रेसका सांसद तथा सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की शपथग्रहण कार्यक्रममा उपस्थित भएनन्। १२ वटा मन्त्रालय पुर्याउने सहमति भए पनि एक मन्त्रालय थपेर १३ पुर्याएकोले आफू असन्तुष्ट रहेको उनले बताएका छन्।