माघ ७,
धनगढी । मोबाइल चोरी गर्ने कैलालीका दुई जना प्रहरीहरु पक्राउ परेका छन् । मोबाइल चोरीको घटनामा हवल्दार हेमबहादुर माल र प्रहरी जवान भरत बुडाललाई पक्राउ गरेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी प्रविन विष्टले बताए । उनीहरु दुवै जना जिल्ला प्रहरी कार्यालयको टाइगर टोलीमा कार्यरत छन् ।
विष्टकाअनुसार बिहीबार धनगढी उपमहानगरपालिका–२ स्थित ट्राफिक चोकमा रहेको ग्लोबल मोबाइल ग्यालरीबाट उनीहरुले मोबाइल चोरेको सीसीटीभी फुटेजमा देखिन्छ । सोही मोबाइल ग्यालरीमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा अप्रेशनका लागि उनीहरुलाई खटाइएको थियो तर मोबाइल ग्यालरीमा बर्दीमै मोबाइल चोरी गरिरहेको सीसीटीभी फुटेज सार्वजनिक भएपछि दुुवै जनालाई नियन्त्रणमा लिइएको हो ।
ग्लोबल मोबाइल ग्यालरीका सञ्चालक सुबास रावलले पसलबाट दुई वटा मोबाइल चोरी भएको थाहा पाएपछि सीसीटीभी फुटेज हेर्दा प्रहरीले नै चोरी गरेको भेटिएको बताए । उनले प्रहरीले चोरी गरेको भेटिएपछि सीसीटीभी फुटेजसहित आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए । बिहीबार प्रहरीले उक्त मोबाइल ग्यालरीमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा छापा हानेको थियो । सो क्रममा मोबाइल ग्यालरी सञ्चालक रावलका भाइ पर्ने दोर्णबहादुर रावलसहित तीन जनालाई प्रहरीले पक्राउ गर्दै उनीहरुको साथबाट १ ग्राम ५५० मिलिग्राम खैरो हिरोइन बरामद गरेको थियो ।