संघीय राजधानीमा सुरु भयो कांग्रेस महाधिवेशनको रमझम

120

-नयाँ नेपाल न्यूज संवाददाता
मंसिर २३, काठमाडौं । नेपाली काँग्रेसको १४औँ महाधिवेशन भोलीबाट सुरु हुदैं छ । महाधिवेशन प्रतिनिधिसहित नेता कार्यकर्ता महाधिवेशन स्थल काठमाडौँ आउन सुरु गरेका छन् । २४-२७ मङ्सिरसम्म काठमाडौँको भृकुटीमण्डपमा महाधिवेशन हुँदैछ । काँग्रेसले महाधिवेशनमा भाग लिन आउने प्रतिनिधिका लागि चार दिनसम्म खाना, खाजा र बासको व्यवस्था मिलाएको छ । काठमाडौं आउन जान भने आफैंले खर्च बेहोर्नुपर्नेछ । महाधिवेशन उद्घाटन दिन नजिकै आउँदा पदाधिकारी र केन्द्रीय सदस्यमा उम्मेदवारी दिने क्रम ह्वात्तै बढेको छ ।

अधिकांशले आफ्नै जिल्लाबाट र केहीले काठमाडौंमा उम्मेदवारी घोषणा गरेका छन् । कांग्रेसमा केन्द्रीय सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्यका आकांक्षी धेरै छन् । खासगरी उमेरहदका कारण पनि पदाधिकारी र केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नेको संख्या बढेको हो । सभापतिमा ६ जनाभन्दा बढी आकांक्षी देखिएका छन् । जसमा सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा.शेखर कोइराला, कल्याण गुरुङ छन् ।

महाधिवेशनमा पेश हुने संगठनात्मक प्रतिवेदन लेखनको काम अन्तिम चरणमा पुगेको छ । संगठनात्मक प्रतिवेदन लेखनको जिम्मा महामन्त्री पूर्णबहादुर खड्कासहित सहमहामन्त्री प्रकाशशरण महत र नेता रमेश लेखकले पाएका थिए । तीनै जना नेताहरु बागबजारस्थित एक होटलमा बसेर प्रतिवेदनलाई अन्तिम रुप दिन लागि परेका हुन् । उक्त प्रतिवेदनमा सभापति शेरबहादुर देउवाले वितेको साँढे ५ वर्षमा गरेका कामकारवाही लगायतका विषय समेटिएको बुझिएको छ । त्यसैगरी नेतृत्व छान्ने महाधिवेशनपछि नीति महाधिवेशन गर्ने जनाएको काँग्रेसले संगठनात्मक प्रतिवेदनमा नीति महाधिवेशन कस्तो हुने भन्ने समेत खुलाएको बुझिएको छ ।

महाधिवेशनमा पार्टीको महामन्त्रीको संगठनात्मक प्रतिवेदन, कोषाध्यक्षको लेखा प्रतिवेदन अनुमोदनका लागि छुट्टै प्रतिवेदन पेस गर्नेछन् । यस्तै यसअघिको महासमिति बैठकपछि महाधिवेशनले पारित गर्ने गरी गरिएका निर्णयसम्बन्धी अनुमोदन प्रतिवेदनहरू पेस गरिनेछ । नेतृत्व छनोटका लागि मात्र हुन लागेको काँग्रेसको १४ औं महाधिवेशनमा विचार, नीति तथा कार्यक्रममाथि बहस हुने छैन । काँग्रेसले महाधिवेशनमा नीति तथा कार्यक्रम पनि पेस गर्ने छैन । काँग्रेसले १४ औं महाधिवेशनपछि मात्र नीति महाधिवेशन अलग्गै गर्ने भएको छ ।