भक्तपुरमा यस्तो अवस्थामा भेटियो बालकको शव

147

असार ५,
भक्तपुर । भक्तपुरको ईट्टा भट्टाको खाल्डोमा एक जना बालकको शव भेटिएको छ । महानगरिय प्रहरी परिसर भक्तपुरले दिएको जानकारी अनुसार चाँगुनारायण नगरपालिका ९, ताथलीमा राजु मछेको छोरा १० वर्षका रोजन मछे शव भेटिएको हो । शुक्रबार अन्दाजी ११ः०० बजेको बालक रोजन मछे हराएको र आसपास वरिपरि जान सक्ने ठाँउ तथा साथीभाईसंग बुझ्दा समेत फेला नपरेको जानकारी प्रहरीलाई प्राप्त भएको थियो । ‘खोजतलास गर्दै जाँदा शनिबार मृतक बालकको घरको नजिकै रहेको सेतो बि.एम ईट्टा भट्टाको कम्पाउण्डमा रहेको खाल्डोमा पानी जमेको पोखरीमा उनको शव भेएिको हो’ परिसरका डीएसपी दिपक गिरीले भने ।

खाल्डोमा बाँस भित्र छिराई पोखरीको पानी हल्लाउदा रोजनको लाश पानीमा तैरिएको भेटिएको प्रहरीले जानकारी दिएको छ । उक्त स्थानमा महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट प्रहरी निरिक्षक सुर्य बहादुर शाहीको कमाण्डको अनुसन्धान अधिकृतको टोली खटी गई घटना स्थल तथा लाश जाँच मुचुल्काको कार्य सम्पन्न गरेको छ । शवलाई पोष्ट्मार्टमकोलागी केएमसी अस्पताल दुवाकोट भक्तपुर पठाईएको र घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको डीएसपी गिरीले जानकारी दिएका छन् ।