ड्राइभिङको परीक्षामा १९२ पटक फेल

124

काठमाडौं । सवारी चालक अनुमतिपत्र प्राप्त गर्नका लागि गाडी चलाउने प्रयोगात्मक परीक्षामा उत्तीर्ण हुनु अनिवार्य छ । यस्तो परीक्षामा सबैले सुरुमै सफलता प्राप्त गर्छन् भन्ने छैन अर्थात् पाँच सात पटक समेत प्रयास गर्नुपर्ने हुनसक्छ । तर एकजना यस्ता जब्बर व्यक्ति निस्किएका छन् जसले अहिलेसम्म ड्राइभिङ लाइसेन्स प्राप्त गर्नका लागि १ सय ९२ पटक ड्राइभिङ टेस्ट दिइसकेका छन् तर पास गर्न सकेका छैनन् । ती व्यक्ति पछिल्लो १७ वर्षदेखि ड्राइभिङ लाइसेन्स प्राप्त गर्न निरन्तर जुटिरहेका छन् तर हात रित्तो छ । यो अनौठो घटना पोल्याण्डको हो । ५० वर्षका ती व्यक्तिले वास्तवमा ड्राइभिङ टेस्टमा फेल हुने काण्डमा रेकर्ड नै कायम गरेका छन् ।

दुई दशकदेखि उनले कार चलाउने तालिम पनि लिइरहेका छन् तर ड्राइभिङ परीक्षामा अझै पास हुन सकेका छैनन् । अहिलेसम्म उनले कार चलाउने तालिमकै लागि मोटो रकम खर्चिसकेका छन् ।
पोल्याण्डमा ड्राइभिङ लाइसेन्सको टेस्टको कुनै सीमा छैन अर्थात् जतिपटक फेल भएपनि पुनः दिन पाइन्छ । पोल्याण्डर्क अपोलो सहरमा अर्का एकजना व्यक्तिले १ सय १३ पटक ड्राइभिङ लाइसेन्सको परीक्षा दिइसकेका छन् तर पास भएका छैनन् । यसअघि पोल्याण्डमै एकजना व्यक्तिले ४० औँ पटकमा ड्राइभिङ टेष्ट पास गरेका थिए ।