माघ१७,
काठमाडौं । नेपाल आयल निगम र पेट्रोलियम व्यवसायीबीच सहमति पाँच बुदेँ सहमति भएको छ । शनिबार निगमको केन्द्रीय कार्यालयमा निगमका कार्यकारी
निर्देशक सुरेन्द्र कुमार पौडेलसहित नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसियशन र वागमति पेट्रोलियम डिलर्स एशोसियशन प्रतिनिधीहरुबीच छलफल भएको थियो । पेट्रोलियम व्यवसायीले निगमसंग राखेको माग पुरा नभए आइतबारबाट आन्दोलन गर्ने चेतावनी समेत दिएका थिए । बिक्रेताले राखेका विभिन्न मागहरु सम्बन्धमा छलफल गरेर केही कुरा निर्णय समेत गरिएको निगमका कार्यकारी निर्देशक पौडेलले जानकारी दिएका छन् । व्यवसायीले पाउने कमिशनका बारेमा निगम संचालक समितिले विक्रेता कमिशन समायोजन बारे निर्णय गरेको मितिदेखि निगम व्यवस्थापनले लागू गर्ने सहमति जनाएको छ । पेट्रोल र डिजलमा थप गरिएको अन्तरिम प्राविधिक नोक्सानी डिजलमा ३ लिटर प्रति ४ किलो लिटर र पेट्रोलमा १० लिटर प्रति ४ किलोलिटरका सम्बन्धमा निगमले विक्रेताको प्राविधिक नोक्सानीको विस्तृत अध्ययन गर्नछ ।
जसमा काठमाण्डौं विश्व विद्यालयलाई प्राविधिक विज्ञताको लागि अनुरोध गरिसकेको र सो अध्ययन समितिमा थप सदस्यहरू समावेश गरी नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक एवं निगम संचालक समितिका सदस्यले संयोजकत्व गर्ने र सो समितिमा नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसियशनका दुई जना प्रतिनिधिएवं निगमका तर्फबाट समेत बरीष्ठ पदाधिकारी सदस्य रहने व्यवस्था गरिएको छ । उक्त कमिटिले जेष्ठ मसान्तसम्ममा प्रतिवेदन बुझाउने र उक्त प्रतिवेदन कार्यान्वयन गर्ने सहमति भएको निगमले जानकारी दिएको छ । निगमको पेट्रोलियम पदार्थ विक्रेता विनियमावली, २०७५को समय सापेक्ष संशोधनका लागि नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनको माग अनुसार उक्त एशोसिएशनका प्रतिनिधि समेत रहने गरी विनियमावली संशोधन कमिटि गठन गर्ने निर्णय भएको छ । निगमको डिपोरकार्यालयदेखि विक्रेताको पेट्रोल पम्पसम्मको टैंक ट्रक लकिङ्गलाई थप प्रभावकारी बनाउन आधुनिक लकिङ्ग जडान गर्ने सहमति भएको निगमले जानकारी दिएको छ । पाँच बुदेँ सहमति भएसंगै नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनले भोलीबाट गर्ने भनेको आन्दोलन एवं विरोधका कार्यक्रम स्थगित गरी आपूर्ति सहज गर्ने निर्णय समेत भएको कार्यकारी निर्देशक पौडेलले जानकारी दिएका छन् ।