Saturday, October 24, 2026
Home स्वास्थ्य स्वास्थ्य क्षेत्रमा भानुभक्तले लगाएको दाग हृदयेशले मेट्लान्‌ ?

स्वास्थ्य क्षेत्रमा भानुभक्तले लगाएको दाग हृदयेशले मेट्लान्‌ ?

185

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद विघटन सिफारिस गर्न आकस्मिक रूपमा मन्त्रीपरिषद्‌ बैठक बोलाए। तर, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्हालिरहेका मन्त्री हृदयेश त्रिपाठी बैठकमा पुगिसक्दा-नसक्दै ओलीले संसद विघटन निर्णय गराइसकेका थिए।

त्रिपाठीमात्र नभई क्याबिनेटमा रहेका अरू मन्त्रीहरूले सो दिन यस्तै व्यवहार भोगे। अचानक संसद विघटन गरेपछि रनभुल्लमा परेका त्रिपाठी लगभग ग्राउन्डमै झरेर मिडियाहरूको सहज पहुँचमा पुगिसकेका थिए। सो दिन मिडियाहरूलाई दिएको प्रतिक्रिया विश्लेषण गर्दा त्रिपाठीले उप्रान्त सत्तामा नरहने छनक बोध गरेजस्तो देखिन्थ्यो।

संसद विघटन गरेको झोंकमा सत्तारूढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल लगायत शीर्षस्थ नेता पक्षका मन्त्रीहरूले राजीनामा दिए। तर, त्रिपाठीले भने दिएनन्‌। रिक्त रहेको मन्त्रालयका लागि मन्त्री नियुक्त गर्ने क्रममा प्रधानमन्त्री ओलीले त्रिपाठीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाइदिए।

यतिखेर कोरोना (कोभिड-१९) महामारी व्याप्त छ। यो महामारी नियन्त्रण गर्ने ‘फ्रन्टलाइन मिनिष्ट्री’ पनि यही मन्त्रालय नै हो। तर, यसबीचमा मन्त्रालयले गरेका कामहरू निकै विवादास्पद छन्‌। स्वास्थ्य सामग्री खरिदसम्ममा मन्त्रालय विवादमा मुछिएको छ। अर्कातिर, जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने महत्वपूर्ण कार्यक्रम कार्यान्वयन अघि बढाउनुपर्नेछ। यी सबै कार्यभारको नेतृत्व मन्त्रालय साटिएका उनै मन्त्री त्रिपाठीकै काँधमा छ।