विभाजन हुने अवस्थामा पुग्यो नेकपाः बालुवाटार र बबरमहलमा दुई समुहको बैठक बस्ने

214

पुस ७,
काठमाडौं । वि.स २०७५ साल जेठ ३ गते तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता घोषणा गरेर बनेपा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विगठन हुने अवस्थामा पुगेको छ । नेकपा आज मंगलबारबाट औपचारिक विभाजनतर्फ जाने भएको छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपाल दुवै समूहले एकले अर्कोलाई कारबाही गर्ने उद्देश्यसहित समानान्तर केन्द्रीय कमिटी बोलाएपछि नेकपा औपचारिक विभाजनमा जाने पक्का भएको हो ।
मंगलबार बस्ने दुवै पक्षको केन्द्रीय कमिटी बैठकपछि पार्टी विभाजनले औपचारिकता पाउने सो पार्टीकै नेताहरुले बताएका छन् । सोमबार दुवै पक्षले सांसदहरूको बेग्लाबेग्लै भेला र हस्ताक्षर गरेर तयारी पूरा गरिसकेका छन् । राष्ट्रिय सभा र विघटित प्रतिनिधिसभा दुवै सदनका सांसदको संयुक्त भेलापछि उनीहरूले आ–आफ्नो पक्षमा बहुमत रहेको दाबी गरिसकेका छन् ।
ओली पक्षले बिहान ९ बजे प्रधानमन्त्रीनिवास बालुवाटार र प्रचण्ड–नेपाल पक्षले दिउँसो १ बजे कार्की बेंक्वेट बबरमहलमा केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । ४४१ सदस्यीय केन्द्रीय कमिटीमा अहिलेसम्मको समिकरण हेर्दा प्रचण्ड–नेपाल समूह बहुमतमा देखिन्छ । प्रचण्डनिकट करिब दुई सय र नेपालनिकट करिब एक सय १० जना केन्द्रीय सदस्य रहेको उनीहरूको दाबी छ ।