पुस १,
काठमाडौं । नेपाल सरकारका सचिव सुरेश आचार्य अर्थात गीतकार ‘सियरा’द्धारा रचित गीति एल्बम ‘तिम्रो प्रेरणाले’ सार्वजनिक भएको छ । राष्ट्रिय नाचघर जमलमा आयोजित एक कार्यक्रममा संस्कृति ,पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले एल्बमको बिमोचन गरेका छन् । कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले सचिब आचार्यको प्रशासनिक क्षमता जस्तै गीत लेखनमा पनि उत्तिकै उर्जा देखिएको बताए । मन्त्री भट्टराईले भने ‘आचार्यको गीत लेखनको निरन्तरताको कामना गर्दै उहाँको गीत लेखनले नेपाली गीत लेखनको दुनियाँमा छुट्टै छाप छोड्न सफल होस् भन्ने कामना छ’।
कार्यक्रममा संस्कृति पुरुष सत्यमोहन जोशीले पठाउनु भएको गीतकार आचार्यको गीति यात्राको सफलताको शुभकामना सन्देश पढेर सुनाईएको थियो । सो अवसरमा सांस्कृतिक संस्थानका अध्यक्ष प्रेमनाथ अधिकारीले स्वागत मन्तब्य ब्यक्त गरेका थिए । संगीत नाट्य एकेडेमीका कुलपति नारायणभक्त श्रेष्ठ रायन,गीतकार संघका अध्यक्ष चुडामणी देबकोटा ,बरिष्ठ संगीतबार टीका भण्डारी र चर्चित गायक प्रमोद खरेलले शुभकामना ब्यक्त गरे । पुर्वमन्त्री तथा गीतकार एस पी कोईराला र पुर्ब मुख्य सचिव तथा गीतकार बिमल कोईरालाले गीतमाथि टिप्पणी गर्दै आचार्यको गीत लेखन गहन र मन छुने रहेको बताए ।
बिमोचन कार्यक्रममा गीतकार आचार्यले गीत लेखनको परिस्थितिको बारेमा चर्चा गर्दै आफ्नो लेखनमा प्रेरणा,सहयोग र उर्जा प्रदान गर्ने सबैप्रति आभार प्रकट गरेका छन् । उनले एल्बमको बिमोचन आफना पिताको हातबाट समेत गर्ने ईच्छा रहेको भए पनि पिताको आकस्मिक निधनले त्यो ईच्छा पुरा हुन नसकेको बताए । बिमोचन कार्यक्रमका अवसरमा गीत तथा म्युजिक भिडीयो समेत प्रस्तुत गरिएको थियो । किरण क्रियशनले बजारमा प्रस्तुत गरेको एल्बम तिम्रो प्रेरणाले मा समेटिएका गीतमा बिभिन्न चर्चित गायक ,गायिकाको सुमधुर आवाज र संगीतकारको संगीत सुन्न पाईन्छ ।