मंसिर २१,
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी भएनन । कोभिड-१९ को जोखिम रहेको र राजनीतिक दस्ताबेज पनि तयार नभएको भन्दै उनी नआएका हुन् । पार्टी कार्यालय धुम्बाराही क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । धुम्बाराहीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका डीएसपीको कमाण्डमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने सम्बन्धित नेताबाहेक सञ्चारकर्मीलाई समेत पार्टी कार्यालयमा प्रवेश दिइएको छैन ।
प्रधानमन्त्री केपी शर्मा ओलीको असन्तुष्टिका बीच आइतबार पार्टी कार्यालयमा नेकपा स्थायी समिति बैठक बस्न लागेको हो । बैठकमा यसअघि अध्यक्ष केपी ओली र कार्यकारी अध्यक्ष प्रचण्डले ल्याएको प्रस्ताव पेश भइ छलफलमा जाने बताइएको छ । तर, पार्टी अध्यक्ष ओली स्थायी समिति बैठकको विपक्षमा रहेकाले आजको बैठक प्रभावित हुने सम्भावना पनि उत्तिकै छ ।
शनिबार बसेको सचिवालय बैठकले अध्यक्षद्वय ओली र प्रचण्डले प्रस्तुत गरेको प्रस्ताव स्थायी कमिटीमा छलफल गर्ने निर्णय गरेको थियो । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार पार्टीको संकट निवारण सम्बन्धमा अहिलेसम्म सचिवालयमा प्रस्तुत प्र्रस्तावहरु स्थायी कमिटीको बैठकमा पेस गरी सार्थक निष्कर्षका निम्ति छलफल अगाडि बढाइने छ ।
शनिबारको सचिवालय बैठकमा ओलीले पार्टी विवाद सचिवालय बैठकबाटै मिलाउनुपर्नेमा पुनः जोड दिएका थिए । सचिवालय बैठकमा बोल्दै ओलीले अधिकांश सदस्यहरुले सचिवालयबाट निकास ननिस्केपछि दुवै अध्यक्षका प्रतिवेदनमाथि स्थायी कमिटीमा छलफल गरेर निष्कर्ष निकाल्न दिएको सुझावलाई प्रतिवाद गर्दै स्थायी समितिलाई ‘रत्यौली’को संज्ञा दिएका थिए।