पौडेलको कार्यक्रम बिथोल्न नेकपा कार्यकर्ताको मोटरसाइकल र्याली

263

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पुल उद्घाटन गर्न नदिने भन्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन् । पौडेलले बुल्दीखोला पुल उद्घाटन गर्ने कार्यक्रम बिथोल्न नेकपा कार्यकर्ताले मोटरसाइकल र्याली नै गरेका हुन् । यसअघि मंगलबार तनहुँको ब्यास नगरपालिका र रिसिङ गाउँपालिका जोड्न सेती नदीमाथि बनाइएको पुलको उद्घाटन गर्दा पनि नेकपा तनहुँले नेता पौडेलको विरोध गरेको थियो ।

विरोधका बाबजुद नेता पौडेलले पुल उद्घाटन गरेको र बुधबार फेरि अर्को पुल उद्घाटन गर्न खाजेको भन्दै नेकपा विरोधमा उत्रिएको हो । तनहुँ काँग्रेसका सभापति एवं ब्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानेले पुल निर्माण उपभोक्ता समितिले उद्घाटनका लागि नेता पौडेललाई आमन्त्रण गरिसकेपछि नेकपाले बखेडा झिकेको बताए ।

नेकपा तनहुँका अध्यक्ष केदार सिग्देलले भने कांग्रेसले जबरजस्ती पुल उद्घाटन गर्न लागेकाले विरोध गर्नुपरेको बताए छ । पुल निर्माणका लागि प्रदेश सरकारले सहयोग उपलब्ध गराएको थियो ।
परिस्थिति झडपतर्फ उन्मुख भएपछि पुल उद्घाटनस्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गर्नुका साथै त्यस क्षेत्रमा तनहुँ प्रशासनले निषेधाज्ञा नै जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी सागर अचार्यले प्रदेशको पूर्वाधार कार्यालयलाई नै जानकारी नगराई पुल उद्घाटन गर्न लागेका जानकारी आएकाले उपभोक्ता समितिलाई कार्यक्रम रोक्न पत्राचार गरेको बताए ।