कोरोनाका नाममा ब्रम्हलुट: एउटा साबुनको मुल्य ३ हजार ८३१ रुपैयाँ

316

मंसिर ४,
सप्तरी । ‘एउटा लाइफबोय साबुनको मूल्य कति रु’ बिक्रेताहरुका अनुसार ९५ ग्रामको खुद्रा मूल्य ३० रुपैयाँ र १२५ ग्राम तौल भएको साबुनको ३५ रुपैयाँ पर्छ । तर, यही साबुनका लागि सप्तरीको एउटा स्थानीय तहले ३ हजार ८३१ रुपैयाँ ४२ पैसाको बिल बनाएको छ । अनलाइन खबर लेख्छ, बोदे बर्साइन नगरपालिकाले कोरोना महामारीका समयमा २ करोड २१ लाख ३४ हजार ३ रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेको छ, जसमा स्यानिटाइजर, साबुन, झुल, म्याट्रेस, मास्क, पञ्जा लगायतका सामाग्री खरिद गरिएको छ ।

साबुनको मुल्यमा मनपरी

नगरपालिकाको कार्यालयले प्रमाणित गरेको खर्च विवरणमा साबुनको शुल्क मनमरी राखेको पाइएको छ । चैत २२ गते ९५ पिस लाइफाबोय साबुन खरिद गरिएको छ, जसको मूल्य ३ लाख ६३ हजार ९८५ रुपैयाँ छ । यसअनुसार एउटा साबुनको मुल्य ३ हजार ८३१ रुपैयाँ ४२ पैसा पर्छ । चार दिनपछि ११४० पिस साबुन किनिएको छ, जसको मूल्य ४ लाख ३१ हजार ९५५ रुपैयाँ छ । यसअनुसार एउटा साबुनको मुल्य २९९ रुपैयाँ ९६ पैसा पर्‍यो । चैत ३१ गते फेरि ६९१२ पिस लाइफबोय साबुन किनिएको छ र २ लाख ३ हजार ८०६ रुपैयाँ खर्च देखाइएको छ । यसअनुसार एउटा साबुनको २९ रुपैयाँ ४९ पैसा पर्‍यो ।

यसबारे प्रश्न गर्दा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्रनाथ शर्माले खर्च विवरणमा प्रिन्ट मिस्टेक भएको तर्क गरे । २२ चैतमा खरिद गरिएको साबुन ९५ पिस नभई कार्टुन भएको उनको दाबी छ । तर ९५ कार्टुन साबुन किनेको भए चार दिनपछि नै ६९१२ पिस किन खरिद गरियो भन्ने जवाफ उनीसँग छैन ।