पोखरामा आयल निगमको दोस्रो ठुलो भण्डारण केन्द्र बन्ने

242

कार्तिक २७,
पोखरा । नेपाल आयल निगमले गण्डकी प्रदेशमा दोस्रो ठुलो भण्डार केन्द्र बनाउन सुरु गरेको छ ।
पोखरा महानगरपालिका वडा नम्बर २९ र ३० मा पर्ने गोगनगौंडामा क्षेत्रको निगमको आफ्नै स्वामित्वमा रहेको जग्गामा उक्त डिपो बनाउन लागिएको हो । जर्मन प्रविधिमा आधारित भई निर्माण हुने यो डिपो पूर्ण अटोमेटेड हुनेछ । डिपोमा अत्याधुनिक सुरक्षा उपकरण तथा आगलागी नियन्त्रणका लागि विशेष यन्त्र जडान गरिनेछ ।

क्षमताको हिसाबले यो डिपो अमलेखगञ्जपछिकै ठूलो हुनेछ । निर्माणाधिन डिपोमा ५०र५० लाख लिटर भण्डारण क्षमताका २ वटा ट्यांकी निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिएका छन्। प्रादेशिक कार्यालय परिसरमै अहिले ३ लाख ५० हजार लिटर पेट्रोल र २२ लाख ८० हजार लिटर डिजेल भण्डारण गर्ने क्षमता छ । नयाँ डिपो बनेपछि कुल १ करोड २६ लाख ३० हजार किलोलिटर पेट्रोलियम पदार्थ भण्डारण गर्ने क्षमता यस कार्यालयसँग हुनेछ । नयाँ बन्ने डिपोमा दैनिक ३२ देखि ४० ट्यांकरले डिजेल अनलोड गर्न सक्नेछन्, कार्यकारी निर्देशक पौडेलले भने । डिपो निर्माणका लागि प्रस्तावित लागत भ्याटबाहेक कुल ७७ करोड ७७ लाख रुपैंयाको लाग्ने भएको छ । सो कम्पनीसँग २ वर्षभित्र कार्यसम्पादन गर्नेगरी सम्झौता भएको छ । बिहीबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सो कार्यको शिलान्यास गरेका हुन् ।