भक्तपुरमा यो वर्ष नयाँ ईटा उत्पादन नहुने, कति हुनेछ मुल्य ?

437

कार्तिक १५,
भक्तपुर । भक्तपुरका ईटा व्यवसायीहरुले नयाँ ईटा उत्पादन नगर्ने भएका छन् । कोरोना भाइरस त्रास कायमै रहेकाले कामदार ल्याउन समस्या भएको हुनाले यस वर्ष भक्तपुरमा नयाँ ईटा उत्पादन नहुने भएको हो । भक्तपुर ईटा व्यवसायी संघका अध्यक्ष नातीभाई हेम्बाका अनुसार स्थानीय सरकार र व्यवसायीहरुको भावनालाई मध्यनजर गर्दै यो वर्ष उद्योग संचालन नगर्ने छलफल भएको हो ।
तर, यस वर्ष नयाँ ईटा उत्पादन नभएपनि गतसालको ईटा बजारमा पर्याप्त भएकाले अभाव नहुने र मूल्य पनि नबढ्ने अध्यक्ष हेम्बाको भनाई छ । विगतका वर्ष धान काट्न सकेपछि भक्तपुरमा ईटा भट्टाको सिजन सुरु हुने गर्दथ्यो । तर, यस वर्ष भने कोरोना महामारीका कारण नयाँ ईटा उत्पादन नहुने व्यसायीहरु बताउँछन् ।

ईटा व्यवसायी संघ भक्तपुरका अनुसार चाँगुनारायण र सूर्यविनायक नगरपालिमा गरेर ६४ ईटा भट्टाहरु संचालनमा रहेका छन् । तिहार सकिए पछि सुरु हुने ईटा बनाउने पोल्ने कार्य बैशाखमा समाप्त हुन्छ ।
व्यवसायीले नगरपालिकालाई तिर्दैं आएको स्थानीय कर बापत बुझाउनु पर्न प्रति भट्टा ७ लाख रुपैयाँ समेत नबुझाउन नसक्ने बताएका छन् । ईटा उत्पादन नहुने भएपछि एक व्यवसायीलाई करिब ४० लाख रुपैयाँ भन्दा धेरै नोक्सान हुने उनीहरुको भनाई छ ।

भक्तपुरका ईटा भट्टाहरुमा विषेश गरि सल्यान, रोल्पा, रुकुम, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, सिन्धुली, सिराहा, सर्लाहीलगायतका जिल्ला र भारतबाट समेत मजदुरहरु आउने गर्दछन् ।
व्यवसायीहरुले ईटा उत्पादन नगर्ने भएपछि काचोँ ईटा बनाउने, गाडीमा लोड गर्ने, पोल्ने, गाडी चलाउनेलयातका कार्य गर्ने करिब ५० हजार मानिसको रोजगारी गुम्ने भएको छ ।