संघीय राजधानी सबैभन्दा जोखिमपूर्ण

88

उपेन्द्र अर्याल/अन्नपूर्ण पोष्ट
२६ असोज , काठमाडौं । नेपालमा कोरोना भाइरस तीव्र गतिमा फैलिरहेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार ५२ जिल्ला ‘रेड जोन’मा छन्। काठमाडौंमा सबैभन्दा बढी संक्रमित छन्। दुई सयभन्दा बढी संक्रमित भएका जिल्लालाई रेड जोनमा राखिएको छ। महाशाखा प्रमुख डा. वासुदेव पाण्डेका अनुसार पाँच सयभन्दा बढी संक्रमित भएका जिल्लालाई प्राथमिकता दिएर योजना बनाइएको छ। ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले योजना बनाएको छ’, डा। पाण्डे भन्छन्, ‘विस्तृत जानकारी मन्त्रालयसँगै छ।’ मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमसँग यसबारे प्रतिक्रिया लिन खोजे पनि सम्पर्क हुन सकेन।

देशभर सक्रिय संक्रमितको संख्या नै ३१ हजार ३ सय १५ पुगेको छ। आइतबार मात्र २ हजार ७१ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्ममा जम्मा संक्रमितको संख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको छ। संक्रमण भयावह स्थितिमा जाँदै गर्दा अस्पतालहरूमा शय्या अभाव हुन थालेको छ। भेन्टिलेटर, आईसीयू अभावमा संक्रमितले ज्यान गुमाउनुपर्ने अवस्था छ। हालसम्म जम्मा ६ सय ३६ जनाको मृत्यु भइसकेको छ। आइतबार एकै दिन २२ जनाको ज्यान गएको मन्त्रालयले पुष्टि गरेको छ।

संक्रमण दु्रत गतिमा फैलिए पनि मानिसको चहलपहल उत्तिकै देखिएको छ। नजिकिँदो चाडपर्वका लागि किनमेल गर्नेका कारण सहरबजारमा भीडभाड छ। सवारीसाधन खुलेसँगै सहरबाट गाउँ र गाउँबाट सहर जाने आउने क्रम चलिरहेको छ। यस्ता गतिविधिले अझै खतराको स्थितितिर लैजाने सम्भावना भएको विज्ञको भनाइ छ।

‘कोरोना संक्रमणको यो अवस्था आउँछ भन्ने पूर्वानुमानित थियो’, आईओएमका पूर्वडिन डा. जगदीश अग्रवाल भन्छन्, ‘अहिले सरकार र जना दुवैले हात उठाएको अवस्था छ। गम्भीरता कसैसँग पनि छैन।’ यो अवस्था अझै विकराल बन्न सक्ने उनको अनुमान छ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. अनुप बाँस्तोला संघीय राजधानीको हकमा अहिलेकै अवस्था एकदमै जटिल भएको बताउँछन्। ‘संक्रमणको स्थिति हेर्दा अहिले अन्य जिल्लाभन्दा राजधानीको अवस्था विषम छ’, डा बाँस्तोला भन्छन्, ‘अस्पतालका शय्याहरू भरिएका छन्। सिकिस्त बिरामीलाई शय्या पाउने अवस्था छैन।’ तर, राजधानीमा अझै विकराल स्थिति आउन सक्ने उनको ठम्याइ छ।

अन्य जिल्लाको हकमा पनि दिनदिनै अवस्था गम्भीर बन्दै जाने संकेत देखिएको उनको भनाइ छ। ‘राजधानीबाहेकका जिल्लामा पनि अहिलेभन्दा गम्भीर अवस्था आउन सक्छ’, उनी भन्छन्, ‘तर, यो सबै कुरा मानिसको व्यवहारमा भर भर्ने कुरा हुन्।’ सरकारले चाडपर्व जहाँ छौं त्यहीं बसेर मनाउन अनुरोध गरेको छ। सुरक्षा मापदण्ड अपनाएर मात्रै हिँडडुल गर्न सरकारले भनेको छ। तर, जनता चाडबाड मनाउन राजधानीबाट गाउँतिर फर्किने धेरै सम्भावना रहेको डा। बाँस्तोलाको अनुमान छ। चाडपर्वमा धेरै मानिस राजधानीबाहिर गए यहाँ प्रकोप कम हुने उनी बताउँछन्।