असोज ६,
बागलुङ । बडिगाड गाउँपालिका- २ राक्सेमा सोमबार साँझ खसेको पहिराले अवरुद्ध मध्यपहाडी पुष्पलाल लोकमार्ग खुलेको छ । स्काभेटर लगाएर पहिरो पन्छाएपछि एकतर्फीरूपमा यातायात खुलेको वडाध्यक्ष ढालप्रसाद शेरचनले जानकारी दिए । लोकमार्ग अवरुद्ध भएपछि सदरमुकाम बागलुङ बजार हुँदै जिल्लाको पश्चिमतर्फ चल्ने सवारी साधन बीचमै रोकिएका थिए । पहिराका कारण स्थानीयवासी दुर्गा अर्याल, जीतबहादुर विक, धनबहादुर थापा, वीरबहादुर घर्ती र गोविन्द अधिकारीको घरमा आंशिक क्षति पुगेको छ । घरमा बस्न जोखिम भएपछि पाँचै परिवारले छिमेकमा आश्रय लिइरहेका छन् ।