गुणस्तरहीन सेनिटाइजरले रोगी बनाउँछ

142
Woman hand using

असोज ५,
काठमाडौं । कोभिड–१९ अर्थात् कोरोनाभाइरसको महामारी फैलिएसँगै यसबाट बच्नका लागि नियमित रुपमा साबुनपानी तथा सेनिटाइजरले हात धुने बानीको विकास भएको छ । साबुनपानी भन्दा सेनिटाइजरले हात सफा गर्न सजिलो हुने हुुँदा सेनिटाइजरको प्रयोगकर्ता बढ्न थालेका छन् । तर सेनिटाइजरको प्रयोग गर्दा सावधानी अपनाइएन भने त्यो घातक पनि हुन सक्ने विज्ञहरु बताउँछन् । माग बढेसँगै नाफाखोरहरुले बजारमा गुणस्तरहीन सेनिटाइजरको कारोबारमार्फत बढीभन्दा बढी मुनाफा आर्जनको लालच गर्नु स्वाभाविक हो । तर गुणस्तरहीन सेनिटाइजरले हात सफा गर्दा छाला सम्बन्धी रोग, आँखामा समस्या, क्यान्सरलगायतको समस्या हुन सक्ने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान का डा. सुरेशकुमार ढुङ्गेल बताउँछन् ।

औषधि व्यवस्था विभागले मापदण्डविपरीत उत्पादन गरिएका सेनिटाइजरमा प्रतिबन्ध लगाएको छ । विभागले स्वास्थ्यमा गम्भीर असर पर्ने विषाक्त रसायन ‘मिथानोल’ भेटिएपछि केही कम्पनीका सेनिटाइजरलाई प्रतिबन्ध लगाएको हो । बजार पाइने सबै प्रकारका सेनिटाइजर उपयोगी हुन नसक्ने डा। ढुङ्गेल बताउँछन् । नाष्टले बजारमा आएका सेनिटाइजर परीक्षण गर्दा केहीमा घातक रसायन पाइएको उनी बताउँछन् ।औषधि व्यवस्था विभागले अनुगमन गर्दा गुणस्तरहीन सेनिटाइजरमा विषाक्त रसायन मिथानोल राखिएको पाएको औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीले बताए । बजार उपलब्ध केही गुणस्तरहीन सेनिटाइजरमा इथानोल राख्नुपर्ने ठाउँमा विषाक्त रसायन मिथानोल राखिएको र अल्कोहल, डिस्टिलवाटर, हाड्रोजन पेरोअक्साइड आदिको मात्रा नमिलाई केही कम्पनीले उत्पादन गरेको पाइएको उनको भनाइ थियो ।

सम्पदा हेल्थकेयर प्रालि इमाडोल ललितपुरको सासा इन्स्ट्यान्ट ह्याण्ड सेनिटाइजर, चीनको ग्वाङ्झाओ ओबोपेकल फाइन केमिकल कम्पनी लिमिटेडद्वारा उत्पादित ओपेकल नन–वासिङ एन्टीब्याक्टेरियल सोलुसन, आरएल कर्प इण्डिया बालसद गुजरात भारतको पामाकेयर इन्स्ट्यान्ट ह्याण्ड सेनिटाइजर र श्रीनाथ हर्बल एण्ड कस्मेटिक इण्डस्ट्री काठमाडौँको युनिकेयर इन्स्ट्यान्ट ह्याण्ड सेनिटाइजरमा प्रतिबन्ध लगाइएको हो । विभागले सर्वसाधारणलाई सूचनामार्फत ती सेनिटाइजर प्रयोग नगर्न आग्रह गरेको छ ।
यसअघि पनि विभागले काठमाडौंका ४ र भक्तपुरको १ उद्योगलाई क्षतिपूर्तिसहित जरिवाना र उत्पादन बन्द गराउने गरी कारवाही गरेको थियो । -रातोपाटीबाट