चुनाबलाई केन्द्रमा राखेर काम गर्नुहोस्

79

भदौ २९,
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई पार्टीका केन्द्रीय सदस्यहरुले सिद्धान्तमा कुनै हालतमा पनि सम्झौता नगर्न सुझाव दिएका छन् । काठमाडौं उपत्यकामा उपलब्ध रहेका केन्द्रीय सदस्यहरुसँग छलफल र अन्तरकृयाको निमित्त थापाले आज केन्द्रीय कार्यालय धुम्बाराहीमा अनौपचारिक बैठक बोलाएका थिए ।

भौतिक दुरि कायम राख्दै संचालन गरिएको बैठकमा ७५ केन्द्रीय सदस्यहरु सहभागी थिए । बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले सैद्धान्तिक र वैचारिक पक्षलाई सम्झौता गर्न नसकिनेमा जोड दिए । राप्रपाको पुँजी र जग भनेको सैद्धान्तिक पक्षलाई नजरअन्दाज गरी अगाडी बढे पार्टीको भविष्य संकटग्रस्त हुने भन्दै नेताहरुले पार्टीको सैद्धान्तिक मुल्यलाई एकतासँग जोडेर हेर्न नहुने धारणा राखेका थिए ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष कमल थापाले राजसंस्था सहितको लोकतन्त्र, सनातन हिन्दुराष्ट्र र स्थानीय स्वायत्त शासनमा आधारित सम्बद्र्धनवादको विचारलाई स्थापित गर्नको निमित्त सवैले आ–आफ्नो ठाउँबाट योगदान दिनुपर्ने आवश्यकता औंल्याए । राप्रपाले बोकेको मान्यतालाई कमजोर हुन नदिन नेतृत्वको तर्फबाट आफुले खेल्नु पर्ने भूमिकामा कुनै कसर बाँकी नराख्ने भन्दै थापाले संगठन केन्द्रीत भएर आगामी निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला जिल्लामा साँगठनिक गतिविधि गर्न नेताहरुलाई आग्रह गरे ।