जसपामा सरकारमा लैजाने खेलमा राजेन्द्र महतो

284

भदौं २८,
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल गठन भएको ६ महिना नपुग्दै सो पार्टी सरकारमा सहभागी हुने विषयमा चर्चा शुरु भएको छ । नेकपासँग राम्रो सम्बन्ध बनाएर जसपा नेपाललाई सरकारमा लैजाने पहल सो पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले गरिरहेका छन् । जसपा नेपालको पदाधिकारी बैठकमा नेता महतोले पार्टीलाई सरकारमा सहभागी गराउनुपर्ने प्रस्ताव लगेको सो पार्टीका एक नेताले बताए ।

पदाधिकारी बैठकमा महतोले नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्माओलीसँग आफ्नो रामो सम्बन्ध रहेको हुनाले आफू यसका लागि पहल गर्ने धारणा बैठकमा राखेको स्रोतका दावी छ । यद्यपि यसका बारेमा अन्य पदाधिकारीले कुनै ठोस प्रतिकृया दिएका छैनन् । नेता महतोले प्रधानमन्त्री अ‍ोलीसँग प्रतिनिधिसभाको चुनावदेखि नै आफ्नो राम्रो सम्बन्ध रहेको र सोही सम्बन्धका कारण राष्ट्रियसभाको चुनावमा दुई बुँदे सम्झौता गरी गठबन्धन बनाउन सफल भएको कुरा बैठकमा राखेका थिए ।

राष्ट्रियसभाका लागि गठबन्धन बनाउने बेलामा पनि प्रधानमन्त्री ओलीले सरकारमा आउनुस् मिलेर काम गरौं भनेको र आफू सोहीअनुसार पहल गर्न लागेको कुरा उनले बैठकमा राखेका थिए । उनले नेकपा तथा सरकारसँग जसपाको बिग्रेको सम्बन्धलाई आफूले सुधार गर्ने कुरा पनि बैठकमा राखेको बताइएको छ ।