विश्वभर कोरोनाका कारण ४ सय १० जना नेपालीको मृत्यु

128
सांकेतिक तस्विर

भदौ १४,
लन्डन । नेपालसहित विश्वभर कोरोना संक्रमणका कारण हाल सम्म ४ सय १० जना नेपालीको मृत्यु भएको छ । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९)संक्रमणबाट विदेशमा यो साता थप ३ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिवार साँझसम्म विदेशमा मात्र १६ देशमा १९५ जना नेपालीहरुको मृत्यु भएको हो । समितिका अनुसार यो साता बेलायतमा १ जना र युएईमा २ जनाको ज्यान गएको हो ।

स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार साउथ अफ्रिका, पोर्चुगल, स्पेन, कतार साउदी अरब लगायतका देशमा कोरोना संक्रमण सामान्य वृद्धि भएको छ । अष्ट्रेलिया र युरोपका केही देशमा कोभिड–१९ को दोस्रो वेभ ९दोस्रो लहर० सुरु भएपछि नेपाली समुदायमा संक्रमण सामान्य रुपमा बढेको हो । हालसम्म विश्वका ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
कोरोना भाइरसका कारण नेपालसहित बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की नेदरल्याण्ड, स्वीडेन, भारत, साउथ अफ्रिका लगायत १७ देशमा रहेका नेपालीहरुको ज्यान गएको हो ।

हाल सम्म नेपाल बाहेक विदेशमा मात्र ३४ हजार ७ सय १ जनामा कोरोना संक्रमण देखिएको छ । ३२ हजार ५ सय ११ जना कोरोना संक्रमणबाट मुक्त भएको स्वास्थ्य समितिले जनाएको छ । यस्तै नेपालमा मात्र ३७ हजार ३ सय ४० जना कोरोना भाइरसबाट संक्रमित भएका छन भने ती मध्ये २० हजार ५ सय ५५ जना कोरोना मुक्त भएका छन् । यो कुल संक्रमित मध्येको ५५ प्रतिशत हो । शनिबार साँझसम्म नेपालमा २ सय १५ जनाको कोरोनाका कारण ज्यान गएको छ ।