भदौ ७,
काठमाडौं । विदेशमा अलपत्र परेका कुनैपनि नेपाली नागरिकले पीसीआर परीक्षणसहित सात दिनसम्म होटल क्वारेन्टाइनमा बस्ने लिखित प्रतिवद्धता जनाएपछि मात्रै नेपाल आउन टिकट पाउने भएका छन्। सरकारले दैनिक पाँच सय जनासम्मलाई नेपाल आउन अनुमति दिने निर्णयसमेत गरेको छ। विदेशबाट आउनेलाई अनिवार्य होटल क्वारेन्टाइनमा बस्नैपर्ने व्यवस्था गरिएपछि होटल व्यवसायीहरुले पनि तयारी थालेका छन्। विदेशबाट आउने कुनैपनि व्यक्तिले पिसिआर परीक्षण गरेपछि मात्रै नेपाल आउनका लागि टिकट खरिद गर्न पाउनेछन्। यस्तै नेपालमा आएपछि अनिवार्य सात दिनसम्म होटल क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ।
त्यसको खर्च आफैंले तिर्ने लिखित प्रतिवद्धता समेत टिकट खरिद गर्दाको अवस्थामै जनाउनु पर्नेछ। त्यसपछि मात्रै स्वदेश फर्किनका लागि अनुमति पाउनेछन्। यसअघि उद्दार गरी ल्याइएका केही व्यक्तिहरुले होटलमा बस्न दररेटमा बार्गेनिङ गरेकाले अबदेखि विदेशमा नै होटल र होम क्वारेन्टाइनमा बस्नेसम्मको लिखित प्रतिवद्धता गर्नुपर्ने व्यवस्था गरिएको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए। होम क्वारेन्टाइनमा नबस्ने आउन नपाउने जहाजको टिकट खर्च विदेशमा नै तिर्नुपर्ने र सात दिनसम्म होटलमा बसेको खर्च, घरसम्म पुग्दा लाग्ने खर्च र होम क्वारेन्टाइनमा बस्नुपर्ने विषयमा लिखित प्रतिवद्धता जनाउन नसक्नेहरु नेपाल आउन नपाउने दाहालले स्पस्ट पारे। अहिले काठमाडौं उपत्यकामा क्वारेन्टाइन र आइसोलेसन सेन्टरको प्रयाप्त व्यवस्था छैन। त्यसैले सरकारले गृह सचिवको संयोजकत्वमा एकीकृत क्वारेन्टाइन निर्माण व्यवस्थापन समिति निर्माण गरेको छ। -thaha khabar













