असार २६,
जनकपुर । सत्तारुढ नेकपाको अध्यक्षद्वयबीचको आन्तरिक किचलो चलिरहदाँ भ्रातृ संगठनहरु भने पार्टीलाई एक ढिक्कासहित अघि बढ्नु पर्ने भन्दै धनुषामा ज्ञापन पत्र बुझाएका छन् । शुक्रबार नेकपाको भ्रातृ संगठन राष्ट्रिय युवा संघ धनुषा र अखिल नेपाल राष्ट्रिय विद्यार्थी यूनियन धनुषाले संयुक्तरुपमा नेकपा धनुषा जिल्ला कार्यालयमा धर्ना दिई ज्ञापन पत्र बुझाएका हुन् ।
धर्ना दिँदै युवा र विद्यार्थीले फुटवादीहरु होसियार, एमसीसी खारेज गर, संसद अधिवेशन चालु गर लगायतको नारा लेखिएको प्लेकार्डसहित प्रदर्शन समेत गरेका छन् । उनीहरुले पार्टी फुटाउन कुनै किसिमको गतिविधि नगर्न नगराउन भन्दै धर्ना दिँदै जिल्ला पार्टी कार्यालय मार्फत नेकपाको केन्द्रीय कार्यालयलाई ज्ञापन पत्र बुझाएका छन् ।
युवा संघ धनुषाका जिल्ला संयोजक सरोज यादव र अनेरास्ववियू धनुषाका संयोजक आरपी यादवले संयुक्त रुपमा हस्ताक्षर गर्दै नेकपा सचिव दिपक यादवलाई ज्ञापनपत्र बुझाएका छन् । नेकपा धनुषाका अध्यक्ष राजकिशोर यादवले ज्ञापन पत्र बुझ्न नमानेपछि सचिव दिपक यादवलाई बुझाएका छन् ।