नयाँ आर्थिक वर्षको बजेटः १४ खर्ब ७४ अर्ब ६४ करोड

82

जेठ १६,
काठमाडौं । कोरोना भाइरसका कारण शिथिल बनेको अर्थतन्त्रलाई उकास्नका लागि कृषि, उत्पादन र रोजगारीमा वृद्धि र सरकारी खर्चमा उच्च मितव्ययितामा जोड दिँदै सात प्रतिशतको आर्थिक वृद्धिको लक्ष्यसहित आगामी आर्थिक वर्ष २०७७–७८ को बजेट आएको छ । अर्थमन्त्री डा। युवराज खतिवडाले संघीय संसद्को संयुक्त बैठकमा बिहीबार बजेट प्रस्तुत गर्नुभएको हो । अर्थमन्त्री खतिवडाले आगामी आर्थिक वर्षका निम्ति १४ खर्ब ७४ अर्ब ६४ करोड रुपियाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको छ । यो चालू आर्थिक वर्षको बजेटभन्दा करिब ५८ अर्ब रुपियाँ कम हो । चालू आर्थिक वर्ष २०७६–७७ को बजेट १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लख रुपियाँ रहेको थियो ।

नेपाल समाचारपत्र लेख्छ, आगामी आर्थिक वर्षका लागि विनियोजित बजेटमध्ये चालू खर्चतर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड रुपियाँ, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड रुपियाँ रहेको छ । त्यसै गरी वित्तीय व्यवस्थापनतर्फ १ खर्ब ७२ अर्ब ७९ करोड रुपियाँ बजेट विनियोजन गरिएको छ ।

बजेटको स्रोत व्यवस्थापनतर्फ राजस्व असुलीबाट ८ खर्ब ८९ अर्ब ६२ करोड रुपियाँ र वैदेशिक अनुदानबाट ६० अर्ब ५२ करोड, वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब ५० करोड रुपियाँ जुटाउने र अर्ब आन्तरिक ऋणबाट २ खर्ब २५ अर्ब रुपियाँ व्यवस्थापन गरिने लक्ष्य लिइएको छ । राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०७७–०७८ को मध्यकालीन खर्च संरचनाअनुसार बजेटको आकार १७ खर्ब ५९ अर्ब ६ करोड ९६ लाख रुपियाँ हुन सक्ने सुझाव दिएको थियो ।

जसअनुसार चालू खर्च १० खर्ब १ अर्ब ३५ करोड ८४ लाख, पुँजीगततर्फ ५ खर्ब ४५ अर्ब ९० करोड ११ लाख र वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ११ अर्ब ८१ करोड २ लाख रुपियाँ रहेको थियो । तर, मुलुकमा कोरोना भाइरसको जोखिम बढ्दै गएपछि बजेटको आकार घटाइएको हो ।