बैशाख १२,
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण विश्वव्यापी बनिरहँदा कोरोना संक्रमितका उपचारका अनेक दृश्यहरू सञ्चारमाध्यममा देख्न पाइन्छ । कोरोना संक्रमणका कतिपय बिरामीलाई अत्याधुनिक भेन्टिलेटरमा घोप्टो पारेर राखेको देखिन्छ । कोरोना संक्रमितलाई घोप्टो पारेर किन उपचार गरिन्छ रु भन्ने धेरैको मनमा परेको हुन सक्छ । यो कुनै नयाँ विधि होइन । यसलाई ‘प्रोनिङ’ भनिन्छ र यसले श्वासप्रश्वाससम्बन्धी बिरामीलाई फाइदा पुर्याउँछ । यसरी घोप्टो पार्दा धेरै मात्रामा अक्सिजन फोक्सोमा पुग्छ । तर, यो विधिका केही जोखिम पनि छन् ।
बिरामीहरूलाई कैयौँ घण्टासम्म घोप्टो पारेर राख्दा श्वासप्रश्वासमा अप्ठेरो पार्नेगरी फोक्सोमा जम्मा भएको तरल पदार्थ निस्किन्छ । कोभिड–१९ का गम्भीर बिरामीका लागि पनि यो विधि प्रयोग गरिएको छ । ‘कोभिड–१९ भएका कैयौँ बिरामीहरूको फोक्सोमा पर्याप्त अक्सिजन पुगेको हुँदैन र त्यसले हानि पुग्छ,’ अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका सहायक प्राध्यापक एवं श्वासप्रश्वास रोगका विज्ञ डा।प्यानागिस गालियात्सातोस भन्छन्, ‘कहिलेकाहीँ उनीहरूलाई अक्सिजन दिएर मात्र पुग्दैन । त्यस्तो बेला हामी उनीहरूलाई घोप्टो पार्छौं, त्यसो गर्दा फोक्सोले फैलिन पाउँछ ।’
डा।गालियात्सातोसका अनुसार फोक्सोको सबभन्दा गह्रौँ भाग पछाडितिर हुन्छ । त्यसैले उत्तानो पारेर राख्दा बिरामीलाई पर्याप्त अक्सिजन तान्न कठिन हुन्छ । घोप्टो पारेर राख्दा अक्सिजनको प्रवाह बढ्छ र फोक्सोका विभिन्न भाग सक्रिय हुन पाउँछन् । ‘यसले उल्लेख्य परिवर्तन गराएको देखिन्छ । हामीले कैयौँ बिरामीमा यसले काम गरेको देखेका छौँ,’ उनी भन्छन् । विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० ले पनि गम्भीर श्वासप्रश्वासको अप्ठेरा बेहोरेका वयस्क कोभिड–१९ बिरामीहरूलाई दिनको १२ देखि १६ घण्टासम्म घोप्टो पार्न सुझाव दिएको छ ।
बालबालिकाको हकमा यो विधि उपयोग गर्न विचार गर्न सकिने तर त्यसका निम्ति थप विज्ञतासहितका प्रशिक्षित स्वास्थ्यकर्मी आवश्यक हुने डब्लूएचओको भनाइ छ । अमेरिकन थोरासिक सोसाइटीले फेब्रुअरीमा चीनको वुहान जिन्यिन्तान अस्पतालमा रहेका १२ जना कोभिड–१९ का बिरामीमा गरेको अध्ययनमा घोप्टो पारिएका बिरामीहरूको तुलनामा नपारिएका बिरामीहरूमा फोक्सोको फैलिने क्षमता कम पाइएको उल्लेख छ । हेर्दा सामान्य लागे पनि घोप्टो पार्ने विधि जोखिमपूर्ण मानिन्छ । बिरामीलाई त्यसरी मिलाएर घोप्टो पार्न समय र प्रशिक्षित विज्ञको सहायता चाहिन्छ ।
‘यो सजिलो छैन । प्रभावकारी रूपमा गर्न ४ देखि ५ जना आवश्यक पर्छ,’ डा। गालियात्सातोसले भने । स्वास्थ्यकर्मीको अभाव भएको र ठूलो संख्यामा कोभिड–१९ का बिरामी ओइरिएका अस्पतालहरूमा यो विधिको उपयोग गर्न चुनौतीपूर्ण हुन्छ । डा. गालियात्सातोसका अनुसार जोन्स हप्किन्स अस्पतालले घोप्टो पार्नका लागि एउटा टोली नै खटाएको छ । उनी भन्छन्, ‘त्यसैले यदि कोही कोभिड–१९ का बिरामी सघन उपचार कक्षमा छन् र स्वास्थ्यकर्मीमा यो अनुभव छैन उनीहरूले हाम्रा विज्ञ टोलीलाई बोलाउन सक्छन् ।’ बिरामीलाई घोप्टो पार्दा अन्य जटिलता पनि उत्पन्न हुन्छ ।
‘हाम्रो एउटा प्रमुख चिन्ता मोटोपना हो । साथै छातीमा चोट लागेका व्यक्ति वा भेन्टिलेसन ट्युब वा क्याथिटर ट्युब लगाएका बिरामीहरूलाई घोप्टो पार्दा अत्यन्त सावधानी अपनाउनुपर्छ ।’ यो विधिलाई हृदयाघातसँग पनि जोडेर हेरिन्छ । कतिपय अवस्थामा यसो गर्दा श्वास फेर्ने नलीमा बाधा पुग्न सक्छ । घोप्टो पार्ने विधिको फाइदा सुरुमा सन् १९७० तिर देखिएको थियो । तर, सन् १९८६ पछि मात्र यसलाई विश्वभरिका अस्पतालहरूले धेरै प्रयोगमा ल्याएको विज्ञहरू बताउँछन् । यो विधिलाई सबैभन्दा पहिले डा।लुसियानो गाट्टिनोनीले अध्ययन र उपयोगमा ल्याएका हुन् ।
उनी हाल इटालीको मिलानको युनिभर्सिटा स्टाटालमा प्राध्यापक छन् । सुरुमा यो विधिबारे निकै आपत्ति जनाएको उनी स्मरण गर्छन् । उनले भने, ‘तर अचेल यो व्यापक प्रयोग हुन्छ ।’ फोक्सोमा धेरै अक्सिजन पुग्नु मात्र यसको फाइदा नभएको उनले बताए । ‘बिरामीहरूलाई घोप्टो पार्दा, फोक्सोमा पर्ने चाप सबै भागमा बराबर फैलिन्छ,’ प्राध्यापक गाट्टिनोनीले बताए ।
‘भेन्टिलेटरको मेकानिकल ऊर्जा फोक्सोमा पठाइएको दृश्य एक पटक कल्पना गर्नुहोस् । त्यो भनेको लगातार मुक्का प्रहार गरिएको जस्तै हो । यदि त्यो शक्ति बराबर रूपमा फोक्सोका सबै भागमा फैलियो भने त्यसले पुर्याउने हानि पनि कम हुन्छ ।’ यो शताब्दीको सुरुमा यो विधिका फाइदाबारे अन्य अध्ययनहरूले पनि समर्थन जनाए । फ्रान्समा सन् २००० मा गरिएको एक अध्ययनमा घोप्टो पारिएका बिरामीहरूमा राम्ररी अक्सिजन प्रवाह भएको र उनीहरूको बाँच्ने सम्भावना बढेको देखिएको थियो ।
सबैभन्दा मुख्य कुरा भनेको हालसम्म कुनै उपचार नभएको रोगसँग लड्न यसले सहयोग गर्छ । डा। गालियात्सातोसले भने, ‘अहिलेका लागि हामीले यस्ता विधिको प्रयोग गर्नु उचित नै हुन्छ ।’
-फर्न्यान्डा पाउलको बीबीसी रिपोर्टमा आधारित