-जानु काम्बांग लिम्बू
न आँखामा निन्द्रा, न मुखमा भोक, न मनमा सान्ति कस्तो कस्तो लागिरहेको छ । हस्पिटलको ठुलो कोठामा ४ जना केटि सुतेका छौं । हेर्छु साथीहरू मस्त निन्द्रामा छन् । ओछ्यान पस्न अघि साथीहरूले गरेको हल्ला र ओछ्यान फेरिनुलाई निन्द्रा नलाग्नुको कारण बनाए साथीहरूको सामु तर, मनमा भने अर्कै थियो । निन्द्रा नालाग्नुको कारण हामीले काम गरिरहेको हस्पिटलमा कोरोना भाइरस द्वारा मृत्यु हुनेको संख्या ४ पुगिसकेको थियो भने संक्रमित संख्या १३ पुगिसकेको थियो।
यसमा संक्रमित नर्स स्टाफहरूको संख्या भने जोडेको छुइन कारण कति नर्सहरू आफै दिर्घ रोगी भएको र कसैको परिवारमा आमा बाबालाई सुगर र आस्माको बिमारी भएकोले काम गर्न असमर्थ रहेको भन्दै उनीहरू होम क्वारेन्टाइनमा बसिरहेका थिए । ४ जना नेपाली र केहि फिलिपिन्स नर्सहरू भने साँच्चै नै संग्क्रमित थिए र छन् ।
म र केहि मेरा केहि साथीहरू भने सुरक्षित नै छौं तर, काम सकेर घर जना परिवारको लागि खत्रा थियो । तेसैले हामीले कठोर निर्णय लिएर हस्पिटलमै बस्न थालेका हौँ । हामीले काम गर्ने हस्पिटल प्राईभेट र धनीहरू मात्र बस्ने भएकोले हामी सुरक्क्षित छौं होला भनि आफ्नो कर्तव्य निर्वाह गरि रह्यौं । हस्पिटलमा धेरै स्टाफहरू घर बस्न थालेपछि हामीलाई कामको चाप बढ्दै गयो ।
हुँदा-हुँदै ६ जनाले गर्ने कम ४ जना, ४ देखि ३, ३ देखि २ जनाले गर्नु पर्ने समय आउंदै गयो । बिमारीहरूमा हल्का लक्षण् देखा परेको हामीलाई थाहा हुँदै गयो तर टेष्ट नगरे सम्म र परिणाम न-आए सम्म रूघा खोकी होला भन्दै काम गरिरह्यौं । सुरू सुरूमा हामीसंग पीपीए पनि थिएन, हस्पिटलले नै यस्तो समय पहिलो पल्ट भोग्दै गरेकोले पूर्व तयारी थिएन भन्नु उचित होला सायद १ बिस्तारै, बिस्तारै बाहिरको न्युज र बिमरीहरूको अबस्था देखेर हामीलाई पीपीए उपलब्ध गर्यो म्यानेजमेन्टले । त्यसपछि हामीले काम गर्दै टेष्ट परिणाम कुर्न थाल्यौं ।
हामीले यति धेरै प्रार्थना गरेका थियौं मनमनै ति टेस्टहरू नेगेटिभ आउन् भनि तर हाम्रो प्राथानाको फल त झन् जम्मै पो पोजेटिभ भएर आयो । हामीले प्रत्यक्ष हेरिरहेका बिमरिहरूको रिजल्ट पोजेटिभ आएपछि अलमल्लमा पर्यौं हामी । पीपीए भित्र गुम्स्सिएको अनुहारमा चिटचिट चुहिएको पानी आँसु थियो या पसिना हामी आफैलाई बाहेक कसैलाई थाहा हुन छाड्यो । टेष्ट रिजल्ट पोजेटिभ आउँछ र हामी ईमिडेट हस्पिटलमै बस्नु पर्छ भनेर कसैले नसोचेको कुरो आईपर्यो । साथीहरू जम्मै डरले हरियो निलो भए ।
अर्को एउटा नमिठो घटना म कामबाट घर पुग्दा म संगै मेरो घरमा बस्ने मेरो बडा बाबा, बडी आमा र उहाहरूको छोरा भाई मेरो हस्पिटलको कामले उनीहरू असुरक्षित रहेको कुरो उनीहरूको आँखाले बताई रहन्थ्यो , उनीहरू बाट जति सक्दो टाढा रहन कोसिश गर्थें । तर अब रिजल्ट पोजेटिभ आएको र मान्छेनै कोरोनाले मरेको भनि सुनाउने हिम्मत म मा रहेन । त्यसैले फूल पीपीए लगाएर साँझ घर गै आफुलाई चाहिने सबै समान र लताकपडा बोकेर आफ्नो कर्तप्यको बाटो पछ्याउंदै हस्पिटल आए ।
अहिले केहि साथीहरू संग हस्पीटल मै बस्दै छु । कोरोना लागेका बिमारीहरूलाई छुट्टै राखेर ब्यारियर नर्सिङ्ग गरिरहेका छौँ । उनीहरूको खाने पिउने थाल, बटुको, गिलाश आदि जम्मै कागजको डिस्पोजलमा प्याक भएर आउँछ खाना, हामीले हदैंसम्मको सुरक्षा सामग्री प्रयोग गरेर उनीहरूको हेरचार गरिरहेका छौँ । औषधिमा पारासिटामोल बाहेक केहि दिने अधिकार छैन र त्यो भन्दा अर्को दबाई छैन पनि ।
ज्वरो बिहान भन्दा बेलुकी बढेको देखिन्छ, घरि सामान्य हुन्छन्, घरि बढी नै तातिन्छ्न् । खोकी कसैलाई छ, कसैलाई छैन । मैले देखेको र मेरो अनुभबमा जसले खानु पिउनुमा बल गर्छन् ति बिमारिहरूमा निको हुने चान्सेस देखियो । खाना पिना छाड्नेहरू चाडो मर्दैछन् । तेसैले अन्य कसैलाई यो रोगको संक्रमण भए खानामा बल गर्न या गराउन अनुरोध गर्दछु ।
हामीलाई यो समय एकदम कठिन छ, हस्पिटलमा बस्न यति कष्टकर छ तर, पनि बसेका छौं । मेरो अनुभवमा यो बिमारी सजिलै सर्दैन कि जस्तो पनि लाग्यो । किनकि हामीले हेरिरहेका विमारीहरूलाई लक्षण देखिएको निक्कै दिन भैसक्यो र कोहि मरिपनि सके । अलिक कम्जोर साथीहरूलाई बाहेक अरुलाई सरेको छैन जस्तो लाग्छ ।
ताप्लेजुङ्ग हालः बेलायत, अक्सफोर्डबाट