वैशाख ८,
काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखा प्रमुख फेरिने भएका छन् । परिसर र महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदी र महाशाखा प्रमुख सहकुलबहादुर थापा दुबै जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा भएपछि नेतृत्व परिवर्तन हुन लागेको हो । महाशाखा र परिसरमा एसएसपी प्रमुख हुने व्यवस्था छ । अपराध महाशाखा उपत्यकाको महत्वपूर्ण सुरक्षा कमाण्ड गर्ने युनिट हो । त्यस्तै काठमाडौं परिसरलाई काठमाडौं जिल्लाको सुरक्षा जिम्मा हुन्छ । दुबै युनिट प्रहरी अधिकारीको आकर्षक र सुुरक्षा चुनौती मानिएको ठाँउ हो ।
परिसर र महाशाखा आउन एसएसपीहरु दौडधुपमा छन् । महाशाखा र परिसर आउन महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी श्याम ज्ञवाली, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)का एसएसपी रामदत्त जोशी, दीपक थापा र केन्द्रीय प्रहरी प्रवक्ता उमेशराज जोशी दौडमा छन् । डिआइजी बढुवा भएकाहरुलाई आजदिउँसो १ बजे प्रहरी प्रमुख आइजीपी ठाकुरप्रसाद ज्ञवालीले दर्ज्यानी चिन्ह लगाइदिने कार्यतालिका छ ।
गृह मन्त्रालयको बढुवा समितिले २७ चैतमा १० जना एसएसपीलाई डीआइजीमा बढुवा सिफारिस गरेको थियो । दर्ज्यानी चिन्ह लगत्तै बढुवा भएका डीआइजीले प्रदेश प्रहरी प्रमुखको जिम्मा पाउने छन् । २८ माघदेखि डीआइजी रिक्त हुँदा प्रदेश–२ बाहेक अरु सबै प्रदेश प्रहरी प्रमुख विहीन छ ।