कोरोना पोजेटिभ देखिँदैमा आत्तिनु पर्दैन : डा रवीन्द्र पाण्डे

48

चैत २३, २०७६ चीनले हिजो सय जनाभन्दा बढी मानिसमा कोरोना संक्रमण विरुद्धको खोप परीक्षण गरेको छ। उनीहरुको परिणाम हेरेर तुरुन्तै अरबौंको संख्यामा खोप वितरण गर्ने जनाएको छ। अमेरिका पनि खोप परीक्षणको अन्तिम चरणमा पुगेको छ। सिंगापुर, इजरायल, नेदरल्याण्ड, क्यानाडा, जापान लगायतका देशहरुले खोपको सफलता पाउदैछन्। कोरोना संक्रमण निको गर्ने एन्टी भाइरल औषधि विभिन्‍न देशका प्रयोगशालामा परीक्षण भइरहेकाछन। यसबाहेक जापानी इन्फ्लुएन्जा, सार्स, मर्स, स्वाइन फ्लु आदिको महामारीमा सफल शिद्ध भएका औषधिहरूले कोरोना संक्रमणमा उत्साहप्रद रुपमा काम गरिरहेका छन्। यी औषधिबाट लाखौँ व्यक्तिले जीवन पाइरहेका छन्। औलो, बाथ, नाम्ले किरामा प्रयोग हुने औषधिको युरोप, अमेरिका, इरान आदि देशमा व्‍यापक प्रयोग गरिएको छ। यी औषधिको सफलता सोचेभन्दा राम्रो भएको बताइएको छ। सेकेण्डरी इन्फेक्सन रोक्नको लागि ब्रोड स्पेक्ट्रम एन्टिबायोटिकले प्रभावकारी काम गरिरहेका छन्। बेलायती राजकुमार चार्ल्स ७१ बर्षलाई कोरोना संक्रमण भएपछि आयुर्वेदिक रिसोर्टमा उपचार गरेपछि निको भइसकेको छ। यसको अर्थ उमेर बढी हुँदैमा निको नहुने होइन भन्ने प्रमाणित हुँदैछ। आयुर्बेद, होमियोप्याथी उपचार पनि कोरोना संक्रमणमा निकै उपयोगी छन् भन्ने देखिएको छ।बीबीसीका अनुसार भारतको केरलामा कोरोना संक्रमण भएका ९३ बर्षिय पुरुष र उनको ८८ बर्षकी श्रीमती, जसले दीर्घ रोगको औषधि खाइरहेका थिए, निको भएर घर फर्किएका छन्। भारतले कोरोना संक्रमण २ घन्टामा पत्ता लगाउने किटको आविष्कार गरेर ब्यापक परीक्षण गर्दैछ। त्यो किट सस्तो र भरपर्दो मानिएको छ। यो किट पुनाको माइल्याबमा उत्पादन गरेर बजारमा उपलब्ध गराइएको हो। नेपालका अस्पतालहरूमा आइसियु, भेन्टिलेटर,आइसोलेसन वार्ड तथा परीक्षणको दायरा निरन्तर वृद्धि भइरहेको छ। साथै जनचेतना, रोग प्रतिरोधात्मक क्षमता पावर, घरमै बस्ने परिपाटी आदिले गर्दा अत्यन्तै न्यून संख्यामा संक्रमण पुष्टि भएको छ। कारणबस यहाँ रोग फैलिए चीन, भारत लगायतका देशहरु सहयोग गर्न तम्तयार भएका छन्। कोरोना संक्रमणबाट बालबालिका तथा युवावर्ग तुलनात्मक रुपमा सुरक्षित भएको हुँदा बच्चाको लागि आमाबुवाहरूले डर मान्नुपर्दैन। हामी नेपालीले बिसिजीको खोप लगाएका छौं , समयसमयमा जुकाको औषधि, हात्तीपाइले रोगको औषधि खाएका छौं। तसर्थ जोखिम न्यून छ। नेपालमा हजार जनामा संक्रमित भए पनि मृतकको संख्या २० जना मात्र हुनेछ। त्यो मृत्यु पनि अन्य विभिन्‍न रोगको कारण मृत्यु उन्मुख व्यक्तिको मात्र हुने। स्वस्थ मानिस वा औषधि खाएर स्वस्थ भएकाले डर मान्नुपर्दैन। नेपाल बाहिर रहनुभएका नेपालीले झन् डर मान्नुपर्दैन। विकसित देशमा उपचारको गुणस्तर निकै उच्च छ।मृत्यु दर अत्यन्तै न्यून छ। आजसम्म भएका अनुसन्धानले देखाएको छ, कोरोना संक्रमण अब तीनसाता द्रुत गतिमा ओरालो लाग्‍नेछ। इटली लगायतका देशको जुन भयावह देखाइएको छ, त्यहाँ त्यो स्तरको भयावह छैन। जसरी नेपालमा भूकम्प आउँदा विदेशतिर नेपाल सकियो भन्ने खालको हल्ला चलेको थियो,अहिलेको हल्ला पनि त्यस्तै प्रकृतिको हो। मृत्यु धेरैको भएको छ तर कुन उमेर समूह कस्तो स्वस्थ्य अवस्था र कस्तो प्रतिरोधात्मक क्षमताका मानिसहरुको मृत्यु भएको छ भन्ने पनि बुझ्नु जरुरी छ। त्यसैले हल्लाको पछि लागेर आत्तिने नगरौं। आत्तिएर निको हुने होइन। सतर्कताले रोकथाम गर्छ। तसर्थ सतर्क बनौं।अप्ठ्यारो स्थितिमा संयम, धैर्य, शान्त, आशाबादी तथा सजग बन्नु नै सबैभन्दा ठूलो उपचार हो।