सेनाले यसरी बचायो आमा र बच्चालाई

230

चैत १५,
काठमाडौं । प्रसुति व्यथाले च्यापेर ज्यानै जोखिममा परेकी महिलाको नेपाली सेनाको हेलिकोप्टर उद्धार गरेर ज्यान बचाएको छ । खोटाङको ऐसेलुखर्क गाउँपालिका (३ निवासी २२ वर्षीया सिर्जना तामाङलाई सुत्केरी व्यथा लागेपछि स्थानीय प्राथमकि स्वास्थ्य केन्द्रमा पुर्‍याइयो । तर त्यहाँको जनशक्तिले सक्दो प्रयास गर्दा पनि सिर्जनाले बच्चा जन्माउन सकिनन्। प्रसुति हुन नसकेर आमा र बच्चाकै ज्यान जोखिममा परेपछि स्वास्थ्य केन्द्रकी स्वास्थ्यकर्मी निर्मला शर्माले प्रतिनिधि सभाका सांसद विशाल भट्टराईसँग गुहार लगाइन् । लकडाउनको तनावबीच गाउँमै रहेका भट्टराईले तत्कालै खोटाङका प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मासँग हेलिकोप्टर झिकाउन आग्रह गरे ।

भट्टराईको पहलबीच प्रमुख जिल्ला अधिकारी शर्माले महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङलाई प्रसुतिले च्यापेर समस्यामा परेकी महिलाकोको उद्धारका लागि आग्रह गरे । महिला मन्त्रालयले पनि तत्कालै नेपाली सेनासँग समन्वय गरेर हेलिकोप्टर पठाइदियो, सांसद भट्टराईले भने, ढिला भएको भए आमा र पेटमा रहेको बच्चा दुवैको ज्यान नै तलमाथि हुन सक्थ्यो, एउटा बिपद् टरेको छ, सरकारलाई धन्यवाद ।