कोरोनाबाट भारतमा मृत्यु हुनेको संख्या ७ पुग्यो

296
सांकेतिक तस्विर

चैत ९,
काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ । गुजरातमा आइतबार दिउँसो एक ६७ वर्षीय वृद्धको मृत्यु भएसँगै भारतमा (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या ७ पुगेको हो । कोरोना संक्रमित वृद्धको एक निजी अस्पतालमा उपचारको क्रममा आइतबार मृत्यु भएको हो । पहिलेदेखिनै मिर्गौला र दमका रोगबाट ग्रस्त उनीमा कोरोना संक्रमण रहेको पुष्टि भएको थियो । गुजरातमा मृत्यु हुने उनी पहिलो र भारतमा सातौं बिरामी हुन् ।

कोरोनाबाट संक्रमित उनी रेलमार्फत दिल्ली, जयपुर हुँदै गुजरातको सूरत आएका थिए ।
भारतीय सञ्चारमाध्यमका अनुसार गुजरातमा पहिलो कोरोना पोजिटिभ केस गुजरातको सूरतबाट नै आएको थियो र पहिलो मृत्यु पनि सुरतमा नै भयो । यस्तै बिहारको राजधानी शहर पटनाको एम्स अस्पतालमा कतारबाट फर्किएका सैफ अली नाम गरेका ३८ वर्षीय पुरुषको ज्यान गएको छ । कोरोना संक्रमणबाट बिहारमा मृत्यु हुने उनी पहिलो व्यक्ति हुन् ।

दुबै मिर्गौला काम नलाग्ने भएका उनको शनिबार बिहान मृत्यु भएको थियो । उनमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको थियो । भारतमा आइतबार जनता कर्फ्यू घोषणा गरी सर्वसाधारणलाई घर बाहिर ननिस्कन आग्रह गरिएको छ भने अहिलेसम्म ३४१ जना कोरोना संक्रमित भेटिएका छन् ।