घरभित्रै दम्पती मृत भेटिए

374

फागुन १५,
कञ्चनपुर । कञ्चनपुरमा एक दम्पती घरभित्रै मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ११, कलुवापुरमा ५२ वर्षीय जयलाल भण्डारी र उनकी श्रीमती २२ वर्षीया धनादेवी भण्डारी मृत अवस्थामा भेटिएका हुन् । मृतक दम्पती आफ्नै घरका छुट्टाछुट्टै कोठामा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । हिजोदेखि नै बन्द रहेको घर बिहीबार दिउँसो दूध पुर्‍याउने मान्छे आएपछि मात्र घटनाबारे थाहा भएको थियो ।

दूध लिएर आएका दूधवालाले घरभित्र शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । श्रीमतीको घाँटीबाट रगत आएको देखिएकाले हत्या आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको छ । अहिले प्रहरीले घटनास्थल सिल गरेर आवश्यक जाँच थालेको छ । अहिले इलाका प्रहरी कार्यालय झलारी र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोली घटनास्थलमा छ । कुकुरसहितको प्रहरी टोली पनि धनगढीबाट मगाइएको प्रहरी स्रोतले जनाएको छ ।