कोरियामा कोरोनाको त्रासः श्रम गर्न गएका नेपालीलाई के छ ?

68
(Photo by STR/AFP via Getty Images)

फागुन ११,

काठमाडौं । चीनपछि कोरोना भाइरसको संक्रमणबाट दक्षिण कोरिया पनि प्रभावित बन्न पुगेको छ । त्यहाँका विभिन्न शहरमा तीब्ररुपमा कोरोना प्रभावित बिरामी देखिन थालेपछि कोरियामा रहेका नेपालीहरुमा पनि त्रास बढेको छ । कोरियाका अधिकांश मुख्य शहरमा नेपाली कामदार र विद्यार्थीहरु छन् ।

कोरियाको सियोलस्थित नेपाली राजदूतावासका अनुसार कोरोनाबाट सबैभन्दा बढी थेगु सहर प्रभावित छ । यो शहरमा करिब १ हजार नेपाली कार्यरत रहेको अनुमान गरिएको दूतावासका श्रम कन्सुलर डिल्लिराम बास्तोलाले जानकारी दिए ।

‘अहिलेसम्म कुनै नेपालीमा यस्तो संक्रमण भएको खबर छैन,’ उनले भने, ‘देशभर आइतबार मध्यान्हसम्म ५५६ जना संक्रमित भेटिएका छन् । ४ जनाको मृत्यु भएको छ । संक्रमण फैलिन सुरु गरेपछि सरकारले उच्च सतर्कता आपनाएको छ, हामी पनि नेपालीहरुलाई सचेत बनाउन लागेका छौं ।’ अहिले कोरोना प्रभावित शहरमा सरकारले नागरिकलाई सचेत बनाउने काम गरिरहेको छ । भीडभाडमा ननिस्कन भनेर सूचना जारी गरिरहेको छ । सार्वजनिक स्थानहरु सुनसान बन्दै गएका छन् । सरकारले सञ्चार माध्यमार्फत बाहिर नजान, मास्क अनिवार्य प्रयोग गर्न, मिचेर हात धुन आह्वान गर्दै सूचना र विज्ञापनहरु बजाइरहेका छन् ।

आइतबार नेपाली दूतावासले पनि कामदारलाई सुरक्षित रहन र स्वस्थ्यमा समस्या आए नजिकको स्वास्थ्य संस्थामा पुगेर जाँच गराउन आग्रह गरेको छ । कोरिया सरकारले नै उच्च सतर्कता अपनाएकाले डराइहाल्नुपर्ने अवस्था नरहेको नेपाली दूतावासले बताएको छ । कुनै समस्या आए तुरुन्तै सरकारको हटलाइनमा खबर गर्न आग्रह गरिएको श्रम कन्सुलर बास्तोलाले जानकारी दिए । कसैलाई स्वास्थ्यमा समस्या आए तुरुन्तै त्यहाँको हटलाइन १३३९मा कल गर्न आह्वान गरिएको छ । मोबाइलमा लगातार सचेतनामुलक सन्देशहरु पनि आइरहेको छ । शंकास्पद बिरामीलाई तुरुन्तै अस्पतालमा लगेर चेकजाँच गराउने काम सुरु भएको छ । -अनलाइनखबर