डोलेश्वरबाट बिदाई भए साधुसन्त

143

फागुन १०,
भक्तपुर । केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा महाशिवरात्रि पर्वको लागि आएका साधुसन्तलाई शनिबार बिदाई गरिएको छ । महाशिवरात्रिमा विभिन्न स्थानबाट डोलेश्वरको मन्दिरमा दर्शन गर्न आएका ती साधुसन्तलाई भोजन, प्रसाद तथा दक्षिणा प्रदान गरी बिदाई गरिएको हो ।
डोलेश्वर दर्शन गर्न आएका ३ सय साधुसन्तहरु बिदाई कार्यक्रममा सहभागी भएको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले जानकारी दिएको छ ।
डोलेश्वरमा आएका साधुसन्तलाई चार तहमा वर्गिकरण गरी दक्षिणा उपलब्ध गराएको छ ।
क वर्गका साधुसन्तलाई नगद १ हजार १ सय ५ रूपैयाँ, ख वर्गलाई नगद ७ सय ५ रुपैयाँ, ग वर्गलाई नगद ५ सय ५ रुपैयाँ र वर्ग बिहिनलाई नगद ३ सय ५ रुपैयाँ दक्षिणा तथा एक थान कम्बल, १ थान धोती प्रदान गरिएको छ ।
डोलेश्वरमा शिवरात्री पर्वका लागि गत एक हप्ता अघिदेखि साधुसन्तहरु आएका थिए । देशका विभिन्न स्थान तथा भारतबाट साधुसन्त तथा योगीहरु शिवरात्रिमा डोलेश्वर आउने गर्दछन् ।