प्रहरीले भन्सारमा बुझाएको ४ सय १४ वटा सर्ट हरायो !

79

माघ २०, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचरणबाट ४१४ वटा सर्ट गायब भएको पाइएको छ । प्रहरीले बरामद गरी बुझाएर भर्पाइसमेत लिएको सर्ट भन्सारको गोदामबाटै गायब भएको हो । बरामद गर्दा प्रहरीले गरेको मूल्यांकनअनुसार यो एउटा सर्टको मूल्य करिब एक हजार रुपैयाँ थियो । भन्सारको गोदामबाट ४ लाख रुपैयाँ भन्दा बढी मूल्यको सर्ट गायब भएको छ ।

महानगरीय प्रहरी प्रभाग, बूढानीलकण्ठले २ असोजमा टुरिष्ट बसबाट भन्सार छलेर ल्याइएको ३ हजार ७ सय ४ वटा रेडिमेट सर्ट बरामद गरेको थियो । तर, बरामदी मुचुल्कासहित कपडा बुझाएको १८ दिनपछि ४ सय १४ वटा सर्ट अपुग भएको भन्दै भन्सारले चलानी नं. २०२ मा प्रहरीलाई पत्राचार गरेको भेटिएको छ । स्रोतबाट अनलाइनखबरलाई प्राप्त पत्र ३० असोजमा पठाइएको देखिन्छ ।

पत्र पठाउनुअघि भन्सारको मुद्दा शाखाका कर्मचारी प्रेम सुवेदीले पटकपटक प्रहरीलाई फोन गरेर सर्ट घटेको विषयबारे ताकेता गरेको अर्को पत्रमा उल्लेख छ । घटनामा प्रहरी अधिकारीले बाटोमा ल्याउँदा त्रुटि भएको हुनसक्ने भन्दै प्रमुख भन्सार प्रशासक ढकालले यसलाई ‘इस्यू’ नबनाउन आग्रह गरे, भन्सारले पठाएको पत्रको जवाफ लेख्दै महानगरीय प्रहरी वृत्त, बूढानीलकण्ठले भनेको छ, ‘मिति २०७६/०६र१२ गते त्यहाँ भन्सार कार्यालयमा कार्यरत प्रेम सुवेदी भन्ने कर्मचारीसँग टेलिफोनमार्फत यस कार्यालयका प्रहरी निरीक्षक भूपेन्द्र गिरीले कुरा गर्दा १००/१५० पिस जति रेडिमेड सर्ट अपुग भनी जानकारी गराएको ।’
दोस्रो पटक टेलिफोनमार्फत कुरा हुँदा करिब २००र३०० पिस अपुग भएको सुवेदीले नै भनेको पत्रमा उल्लेख छ । यो पत्रको बोधार्थ प्रहरीले भन्सार विभाग त्रिपुरेश्वर र महानगरीय प्रहरी वृत्त, महाराजगञ्जलाई पनि पठाएको देखिन्छ ।
तर विमानस्थलका प्रमुख भन्सार प्रशासक विष्णुराज ढकालले प्रहरीले पत्रको जवाफै नदिएको दाबी गरे । उनले भने, ‘प्रहरीले मुचुल्का गरेर ल्याइसकेको सामान भन्सारमा फेरि भेरिफाइ हुन्छ । त्यतिबेला घटबढ हुनसक्छ ।’ यो घटनामा प्रहरी अधिकारीले बाटोमा ल्याउँदा त्रुटि भएको हुनसक्ने भन्दै ढकालले यसलाई ‘इस्यू’ नबनाउन आग्रह गरे ।

मुद्दाका शाखाका सुवेदी पनि भन्सारबाट सामान हराउनै नसक्ने दाबी गर्छन् । ‘हामीले सामान राख्ने ठाउँ नेपाली सेनाको सुरक्षा घेराभित्र पर्छ । प्रत्येकको बाहिर जाँदा झोला जाँच हुन्छ’, उनले अनलाइनखबरसँग भने, ‘प्रज्ञापन पत्रबिना सामान कतैबाट पनि जाँदैन । त्यति मात्र होइन, त्यहाँ सीसी क्यामरा पनि छ । त्यसैले यहाँबाट सामान हराउने भन्ने हुनै सक्दैन ।’ महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका प्रमुख उमेश लम्साल भने भन्सारलाई १२ असोजमा कपडा बुझाएर भरपाई लिएर प्रहरी कर्मचारी कार्यालयमा आएको बताए । -अनलाइनखबर