कमल थापाको राजनीतिक प्रतिवेदनः धर्मपरिवर्तनको डढेलो फैलियो

93

माघ १७,
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेकपा नेतृत्वको वर्तमान सरकार पूर्णरुपमा असफल भएको निष्कर्ष निकालेको छ । शुक्रबारदेखि सो पार्टीको काठमाडौँमा सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष कमल थापाले पेश गरेको राजनीतिक कार्यपत्रमा सरकार पूर्णरुपमा असफल भएको निष्कर्ष निकालिएको हो । नयाँ संविधान बमोजिम निर्वाचन भएपछि शान्ति र स्थायित्व कायम भइ देश आर्थिक विकास र समृद्धिको बाटोमा अग्रसर जनताले आशा गरेको भएपनि कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारले जनताको अपेक्षा अनुरुप काम गर्न नसकेको सो पार्टीको ठहर छ ।

‘राज्य सञ्चालनको हरेक पक्षमा सरकार असफल प्रमाणित भएको छ। देश र जनताको विश्वास जित्ने गरि सरकारले सकारात्मक परिवर्तनको अनुभूति दिन सकेको छैन। पूर्वाधार विकासको क्षेत्रमा केही कार्यहरु भएता पनि आर्थिक सम्बृद्धिको निमित्त अनिवार्य शर्तको रुपमा रहने लगानी प्रवद्र्धन, रोजगारी सिर्जना, भ्रष्टाचार नियन्त्रण, व्यापार घाटाको न्युनिकरण, शिक्षा र स्वास्थ्यको गुणस्तर अभिवृद्धि गर्ने सन्दर्भमा सरकार पुरै असफल भएको छ’, अध्यक्ष थापाको प्रतिवेदनमा भनिएको छ । राजसंस्थालाई पाखा लगाएर शुरु गरिएको १४ वर्षको राजनीतिक अभ्यास पछि अहिले देश झन संकटग्रस्त हुँदै गएको आभास भएको समेत दावी गरिएको छ । अहिले धर्मपरिवर्तन डढेलो जसरी फैलिएको भन्दै राप्रपाले बेरोजगारी समस्या, सर्वसत्तावाद, बाह्य शक्तिको चलखेललगायत हाल देशमा विद्यमान मुख्य संकट र चुनौति भएको औँल्याएको छ ।

राप्रपाले धर्मनिरपेक्षताको आडमा फैलिएको धर्मपरिवर्तनको डढेलोलाई समयमै नियन्त्रण गर्न नसकिए देश धार्मिक द्वन्द्वमा फस्नसक्ने चेतावनी समेत दिएको छ । ‘पछिल्लो तथ्यांक अनुसार तिव्र गतिमा समाजको ईशाईकरण हुने देशहरुमा नेपाल पहिलो नम्बरमा रहेको छ । धर्मनिरपेक्षताको आडमा फैलिएको धर्मपरिवर्तनको डढेलोलाई समय मै नियन्त्रण गर्न नसकेमा यसले अन्तत्वगत्वा नेपालको राष्ट्रिय पहिचानलाई समाप्त पार्ने, सामाजिक सांस्कृतिक सदभाव र एकता खलबल्याउने र देशलाई गंभीर धार्मिक द्वन्द्वमा फसाउने टड्कारो संभावना देखिन्छ’, थापाको राजनीतिक प्रतिवेदनमा भनिएको छ ।

राप्रपाले प्रायः सबै प्रमुख दलहरु आफ्नो सिद्धान्तबाट विचलित भएको दावी गर्दै भनेको छ, ‘पूर्वाग्रह रहित भै ईमान्दारीपूर्वक विष्लेषण गर्ने हो भने तत्कालीन माओवादी, एमाले र कांग्रेस सबै आ९आफ्ना स्थापनाकाल र संघर्षकालका मान्यता, विश्वास र सिद्धान्तबाट विमुख र विचलित भैसकेका छन्। जुन सिद्धान्त र आस्थाको निमित्त दलमा सहभागी भएका थिए, संघर्ष गरेका थिए र जीवन उत्सर्ग गरेका थिए ती मान्यतामा कुनै पनि दल र नेताहरु टिक्न सकेका छैनन्।’

पार्टीहरुमा वैचारिक अडानमा ह्रास आएको समेत राजनीतिक प्रतिवेदनमा भनिएको छ । कारण जेसुकै भए पनि सिद्धान्तबाट विचलित भएकोले दल वा नेताहरुको नैतिकता र आदर्श स्वतः समाप्त हुने प्रतिवेदनमा उल्लेख छ । ‘दलअनि जति विचलित र दिशाहीन हुन्छ, त्यति नै व्यक्ति वा दलले असुरक्षित महशुस गर्न थाल्छ, अनि आफ्नो राजनीतिक, आर्थिक र भौतिक सुरक्षाको निमित्त जायज नाजायज सबै काम गर्न थाल्छ। व्यक्ति र दल भ्रष्ट र अवसरवादी हुने प्रमुख कारण सैद्धान्तिक विचलन हो । विचार वा सिद्धान्त राम्रो नराम्रो वा ठिक बेठिक हुनसक्छ । त्यसबारे बहस विवाद हुनसक्छ र हुनुपर्छ । विचार वा सिद्धान्तलाई समयानुकूल परिमार्जन समेत गर्नुपर्छ। तर, सिद्धान्त वा विचारबाट पलायन वा विचलित हुनु आत्मघात हो। त्यसर्थ, मुलुकमा हाल विद्यमान संकटको कारणहरु मध्ये दल र नेताहरुको वैचारिक विचलन पनि एक हो ।’ जनताले अहिलेका दलहरुको विकल्पको खोजी गर्न थालेको समेत राप्रपाले प्रतिवेदनमा उल्लेख गरेको छ ।