विश्वकै दोस्रो अग्लो बञ्जीको सफल परिक्षण

506

माघ १७,
पर्वत । पर्वत र बागलुङको बीचमा बग्ने कालीगण्डकी नदीमाथि बनेको बञ्जी जम्पको सफल परिक्षण भएको छ । पर्वतको सदरमुकाम कुस्मा बजारदेखि बागलुङ नगरपालिकाको बलेवा जोड्ने उक्त पुलमाथि निर्माण भएको ‘द क्लिफ बञ्जी’ विश्वकै दोस्रो अग्लो बञ्जी जम्प हो ।
द क्लिफ नेपाल प्रालिले २० करोडको लागतमा निर्माण गरेको उक्त बञ्जीको श्रीपञ्चमीको शुभसाइत पारेर सफल परिक्षण गरिएको हो । विश्वकै लामो झोलुङ्गे पुलमा निर्माण भएको बञ्जीमा प्रभु बैंकको समेत ऋण सहयोग रहेको छ ।

एशियाकै नमुना पुलमा गनिएको कालिगण्डकी नदिको खोँचमा बनेको उक्त झोलुङ्गे पुलको लम्बाई ५२५ मिटर रहेको छ भने खोलादेखि पुलको उचाई २२८ मिटर ९७४८फुट रहेको छ । पोखरा देखि ५५ कि।मी।को दुरीमा पर्ने कुस्माको उक्त पुलको डिजाइन भने आर। एण्ड डी। सेन्टर प्रालिका आर।के। मल्लिकले गरेका हुन् ।

हाल विश्वकै अग्लो बञ्जी मकाउमा ७६४ फिट उचाईमा रहेको छ । त्यसैगरी, स्वीट्जरल्याण्डको भरजस्का बाँध माथि ७२० फिट उचाईमा रहेको बञ्जी हालसम्म दोस्रो अग्लो बञ्जीको रुपमा रहे पनि कुस्मामा बनेको बञ्जी ७४८ फिट उचाइमा बनेसँगै स्वीट्जरल्याण्डको बञ्जी विश्वको तेस्रो अग्लो बञ्जीमा परेको छ । कुस्मा बागलुङमा रहेको ‘द क्लिफ बञ्जी जम्प’ भने प्राकृतिक पुलमा निर्माण भएको विश्वकै अग्लो बञ्जी भएको संचालक अध्यक्ष राजु कार्कीको दाबी छ । बञ्जीमा यसअघि ड्रम पठाएर परीक्षण गरिँदै आएकोमा बिहीबार मानिसले नै पहिलो पटक परीक्षण गरेका हुन् । बञ्जीका सञ्चालक अध्यक्ष राजु कार्कीले बञ्जीको शुभारम्भ गरेका थिए । २०७३ सालदेखि निर्माण कार्य शुरु भएको उक्त बञ्जीमा सञ्चालक अध्यक्ष राजु कार्की सहित युवराज जोशी, नेत्र प्रसाद पराजुली र फ्लोरेन्स कार्कीको संयुक्त लगानी रहेको छ ।