माघ १७,
काठमाडौं । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयको तथ्यांक अनुसार अनुसार कर्णालीमा हुने सवारी दुर्घटनाका घटनामा तीन दिनमा एक जना मृत्यु हुने गरेको छ । कर्णालीमा साँघुरा, जोखिमपूर्ण र नयाँ खोलिएका ट्र्याकका कारण दुर्घटनाका घटना बढ्दै गएका छन् । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७३/०७४ मा सवारी दुर्घटनाका एक सय एक घटनामा एक सय १७ जनाको मृत्यु, आर्थिक वर्ष आर्थिक वर्ष २०७४/०७५ मा ८८ वटा सवारी दुर्घटनामा ९१ जनाको मृत्यु र आर्थिक वर्ष २०७५/०७६ मा सवारी एक सय ४६ वटा सवारी दुर्घटनामा एक सय १५ जनाले ज्यान गुमाएका छन् ।
चालू आर्थिक वर्ष २०७६/०७७ को ६ महिनामा सवारी दुर्घटनाका एक सय ७६ वटा सवारी दुर्घटना भएका छन् । ६ महिनाको अवधिमा भएका यी घटनामा ६० जनाको मृत्यु भएको छ । यी सवारीको दुर्घटनामा परी दुई सय १३ जना घाइते भएका छन् । तथ्यांकअनुसार कर्णालीमा सवारी दुर्घटनाको दर हेर्दा हरेक तीन दिनमा एक जनाको ज्यान जाने गरेको छ । गत साउन ५ जना, भदौ १३ जना, असोजमा ११ जना, कात्तिकमा आठ जना, मंसिरमा १२, पुषमा पाँच, माघमा १२ वटा सवारी दुर्घटनामा परि ६ जनाको ज्यान गएको प्रदेश ट्राफिक कार्यालयका प्रवक्ता मेघप्रसाद चौरासियाले बताए ।
‘कर्णालीमा सवारी दुर्घटनाको कारण साँघुरा सडक र सवारी चालकको लापरबाहीका कारणले हुने गरेका छन्,’ उनले भने, ‘कर्णालीका अधिकांश ठाउँमा नयाँ खोलिएका सडक मापदण्ड अनुसार छैनन् । पूरा नभइ गाडी चलाउँदा पनि दुर्घटना बढेका हुन् ।’
टिपर आतंक
कर्णालीमा पछिल्लो समयमा टिपर आतंक बढ्दो छ । गत मंसिरदेखि हालसम्म टिपर दुर्घटनामा सात जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् । गत मंसिर १२ गते हिल्सा–सिमकोट सडकखण्डको नाम्खा गाउँपालिकाको सल्ली खोलाको डाँडालाग्नामा टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो भने दुर्घटनामा ११ जना घाइते भएका थिए ।
त्यस्तै, मंसिर २७ गते नाम्खा गाउँपालिका–५ को तुम्कोट भीरमा मा दुई जनाको ज्यान गएको थियो । त्यहाँ दुई जना घाइते भएका थिए । माघ १५ गते सुर्खेतमा टिपरको ठक्करबाट कालिकोट महावै गाउँपालिका–३ सिमखेतका केशर सिंहको मृत्यु भएको थियो ।
कर्णाली प्रदेशमा नयाँ सडक र अन्य संरचना नयाँ निर्माण हुन लागेका कारणले टिपर दुर्घटना घटना बढ्दै गएको प्रवत्ता चौरासियाले बताए । ‘कर्णालीमा विशेष गरेर नयाँ संरचना बन्ने क्रम बढेसँगै टिपरको प्रयोगपनि बढ्यो, टिपर चालकले गर्ने लापरबाहीका कारण दुर्घटनाको जोखिम बढेको हो ।’ शिलापत्रबाट