युवा साकोसको सेवा केन्द्र नगरकोटमा

228

माघ १५,
भक्तपुर । जिल्लाको उत्तरपूवी क्षेत्रका स्थानीयलाई लक्षित गरि वित्तिय कारोवार गदै आएको श्री युवा बचत तथा ऋण सहकारी संस्था लि.ले सेवा केन्द्र विस्तार गरेको छ । चाँगुनारायण–६ खरिपाटीमा रहेको सहकारीले नगरकोट बसपार्कस्थित भट्टेडाँडामा सेवा केन्द्र विस्तार गरेको संस्थाको अध्यक्ष प्रल्हाद बास्तोलाले जानकारी दिनुभयो । चाँगुनारायण नगरपालिका ५, ६ र ७ का ३ वटा वडामा कार्यक्षेत्र बनाई बित्तिय कारोवार गरिरहेको युवाका सदस्य र कारोवार बृद्धि हुँदै गएपछि सदस्यहरुलाई प्रभावकारी सेवा प्रदान गर्न सेवा केन्द्र विस्तार गरिएको संस्थाका सचिव सोम शर्मा (बजगाईं) ले बताउनुभयो । उहाँले छिट्टै बागेश्वरी र छालिङ्गमा १–१ वटा सेवा केन्द्र विस्तार गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो ।

सेवा केन्द्र उद्घाटन कार्यक्रममा ६ नं. वडाका वडा अध्यक्ष सन्त बहादुर वाइवाले जिल्लाकै उत्कृष्ट सहकारीका रुपमा सदस्यहरुलाई सेवा प्रदान गर्दै आएको युवाले सेवा केन्द्र विस्तार गरेपछि स्थानीयलाई सहज सुविधा पुग्ने बताउनुभयो ।
संस्थाले आफ्नो कार्यक्षेत्र २ वटा वडामा विस्तार गरि चाँगुनारायणको ४ र ८ मा समेत कारोवार फैलाउन प्रक्रिया अगाडि बढाइएको व्यवस्थापक बिनोद लामिछानेले बताउनुभयो । श्री युवा साकोसमा हाल ३ हजार ९ सय ८० सदस्य र १४ सय ८६ बाल सदस्य रहेको र संस्थाको कुल कारोवार ५३ करोड २६ लाख २० हजार रहेको संस्थाका कोषाध्यक्ष प्रकाश बास्तोलाले जानकारी दिनुभयो । संस्थाको शेयर पूँजि ३ करोड ५६ लाख ७२ हजार रहेको उहाँले बताउनुभयो ।